हमासले आज तीन इजरायली र पाँच थाईसहित आठ जना बन्दीलाई रिहा गर्दै
प्यालेस्टिनी विद्रोही समूह हमासले आज थप आठ जना बन्दी रिहा गर्दैछ । हमासले युद्धविराम सम्झौताअन्तर्गत आज अरु तीन जना इजरायली बन्दी र पाँच जना थाई बन्दीलाई रिहा गर्न लागेको इजरायलले जनाएको बीबीसीको खबरमा उल्लेख छ ।
हमासले रिहाइ गर्न लागेको तीन इजरायलीमा सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज रहेका छन् । रिहा गर्न लागिएका पाँच जना थाई नागरिकको नाम भने खुलाइएको छैन ।
यो पछिल्लो गाजा युद्धविराम सम्झौताको तेस्रो चरणको बन्धक रिहाइ हुन लागेको हो । सम्झौताअनुसार इजरायली बन्धकहरूको रिहाइको बदलामा इजरायलले एक सय १० प्यालेस्टाइनीहरूलाई इजरायली जेलबाट मुक्त गर्नुपर्नेछ ।
थाई बन्धकहरूको रिहाइ हमासको एकपक्षीय कदम रहेको र यो सम्झौताको हिस्सा नभएको इजरायलको भनाइ छ । थाई बन्धकहरू कृषि मजदुर हुन् । उनीहरुलाई इजरायलबाट अपहरण गरिएको थियो ।
थाइल्याण्डको सरकारले गाजामा आफ्ना ६ जना नागरिक अझै पनि बन्धकमा रहेको जनाएको छ ।
एजेन्सी
Comments