युक्रेनसँग वार्ता सम्भव छ तर जेलेन्स्कीकाे उपस्थिति स्वीकार्य हुँदैन : रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्तिवार्ता गर्न तयार रहेको तर वार्तामा राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको उपस्थिति अस्वीकार्य रहेको बताएका छन् ।

जेलेन्स्की अवैध नेता भएकाले उनीसँग वार्ता गर्न नसकिने पुटिनले बताएको समाचार संस्था एएफपीले जनाएको छ । जेलेन्स्कीको कार्यकाल गएको वर्ष नै सकिए पनि सैन्य कानून लगाएर अवैध रूपले सत्ता चलाइरहेकाले उनी अवैध नेता भएको पुटिनको तर्क छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी २० तारिखमा पदभार ग्रहण गरेपछि दुवै पक्षलाई लडाइँ अन्त्य गर्न दबाब दिइरहेका छन् । ट्रम्पले यदि वार्ता नगरेमा रुसमाथि कडा प्रतिबन्ध लगाउने धम्की दिएका छन् ।

तर पुटिनले भने जेलेन्स्कीसँग वार्तामा नबस्ने बताएका हुन् । यदि साँच्चिकै वार्ता गर्ने हो भने युक्रेनले जेलेन्स्कीबाहेकको वार्ता टोली बनाउनुपर्ने उनले उल्लेख गरे । यदि पश्चिमा देशले युक्रेनलाई दिएको सहयोग घट्यो भने लडाइँ दुई महिना वा त्योभन्दा कम समयमा समाप्त हुने पनि पुटिनको भनाइ छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने पुटिनको यो भनाइबाट रुसले युद्ध अन्त्य गर्न नचाहेको पुष्टि भएको बताउँदै रुसमाथि थप प्रतिबन्ध र अन्तर्राष्ट्रिय दबाबको खाँचो रहेको बताएका छन् । लडाइँ रोक्ने प्रयासलाई पुटिनले पटक पटक निराश बनाइरहेको भन्दै जेलेन्स्कीले पुटिन वार्ताबाट डराएको र युद्ध लम्बाउन सबैखाले हर्कत गर्न तयार रहेको आरोप लगाएका छन् ।

एजेन्सी

Comments

Back to top