बन्द उद्योगबाट खुलेकाे गोल्यानकाे व्यावसायिक यात्रा

नेपाल एक कृषिप्रधान देश । खेतीयोग्य जमिन पनि पर्याप्त छ। तर कृषिप्रधान मुलुक भएर पनि कृषिजन्य उत्पादनहरु आयात गरेरै खानुपर्ने बाध्यता । सरकारीस्तरबाट बेलाबखत कृषि प्रवर्धन गर्नुपर्ने विषय उठान भइरहन्छ । व्यावसायिक कृषिको नाममा धेरै योजना बनेका पनि छन् । तर कृषि व्यवसायीकरण हुन सकिरहेको छैन ।

मुलुकको चर्चित व्यावसायिक घराना गोल्यान ग्रुपले भने नेपालमै नमूना काम गरेको छ । जुन कृषिमा लाग्न चाहनेहरुका लागि प्रेरणाको श्रोत बनेको छ । गोल्यान ग्रुप स्वदेशमा उत्पादित बस्तु विदेश निर्यात गर्ने एक चर्चित ग्रुप हो । जसले व्यापारघाटा उच्च भइरहेको बेला पनि आफ्ना उत्पादनहरु निर्यात गरेर मुलुकको व्यापारघाटा घटाउन मद्दत गर्दै आएको छ ।

गोल्यान ग्रुपले उत्पादनमूलक उद्योग, बैंक, बीमा, जलविद्युत्, रियलस्टेट, कृषि र हस्पिटालिटी क्षेत्रमा लगानी गरिरहेको छ । यसका अध्यक्ष हुन्– पवन गोल्यान । एनएमबि बैंकको अध्यक्ष समेत रहेका गोल्यान नेपालका बाणिज्य बैंकका अध्यक्षहरुको संस्था नेपाल बैंकर्स परिसंघका समेत अध्यक्ष हुन् । अहिलेका स्थापित र सफल उद्योगीको छवी बनाएका गोल्यान सजिलै यहासम्म आईपुगेका होइनन् । निरन्तरको मिहेनत र लगनले उनलाई आजको यो पहिचानमा पुर्याएको हो ।

पवन गोल्यान मोरङको पुरानो सदरमुकाम रंगेलीमा जन्मिएका हुन । स्कुल रंगेलीमै पढे। त्यसबेला १६ वर्ष नपुगी प्रवेशिका परीक्षामा सहभागी हुन नपाइने भएकाले आफू १४ वर्षको छँदा २ वर्ष उमेर बढाएर सत्यनारायण हाइस्कूल, विराटनगरबाट एसएलसी पास गरे । एसएलसी दिएपछि खाली समयमा बुवा सोहनलाल गोल्यानले उनलाई पुर्ख्याैली व्यापार सिकाए । त्यहाबाट सुरू भयाे गाेल्यानकाे व्यावसायिक यात्रा । बुवालाई कारोबारमा सघाउँदै, सिक्दै उनि अघि बढिरहे । १९ वर्ष पुग्नै लाग्दा मोरङ क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक गरे । ‘त्यसपछि बुवाले कारोबार पुरै जिम्मा दिनुभयो’, पवन सम्झन्छन् ।

सोहनलाल गोल्यानले विराटनगरमा चप्पल, छाता, जिपर (प्यान्ट र ज्याकेटको चेन) र अडियो क्यासेट बनाउने उद्योग पनि खोलेका थिए । त्यसबाट उद्यम कारोबार सिकेका छोरा पवनले कपडा उद्योगमा पारिवारिक नेतृत्व लिए । बुवाले सम्हाल्न नभ्याएर बन्द रहेको कपडा उद्योगबाटै आफ्नो व्यावसायिक सफलताको यात्रा सुरु भएको पवन बताउँछन् । त्यसपछि धागो उद्योग खोल्ने योजना बन्यो । सन् १९९४ मा एमएस ग्रुपका शशीकान्त अग्रवालसँग मिलेर ५०-५० प्रतिशत लगानीमा रिलायन्स स्पीनिङ मिल खोलिएको थियो ।

त्यस लगत्तै नेपाल र भारतबीच भएको एउटा व्यापारिक सम्झौताले धागो उद्योगलाई मद्दत गर्यो। त्यसकै परिणामस्वरुप नेपालमा बनेको सुती र सिन्थेटिक धागो ठूलो परिमाणमा भारत निर्यात हुन थाल्यो । अलि पछि त टर्कीतिर पनि निर्यात हुन थाल्यो, जुन अहिले पनि जारी छ – गोल्यान भन्छन ।
गोल्यान ग्रुपको अर्को उद्योग छ– शिवम् प्लाष्टिक इण्डष्ट्रिज । यहाँ उत्पादित ८० प्रतिशतभन्दा बढी पोलि–प्रोप्लिन ब्याग (सिमेण्ट राख्ने बोरा), टार्पाेलिन (त्रिपाल) र झोलाहरु भारतमा निर्यात हुन्छ ।

पवन गोल्यानले अहिले एमएमबी बैंकमा अध्यक्षका रुपमा नेतृत्व समेत गरिरहेका छन । उनको नेतृत्वको एमएमबी बैंकले सन् २०१७ र २०१८ मा लगातार दुईपटक बेलायतस्थित द फाइनान्सियल टाइम्सको ‘बैंक अफ दी इयर अवार्ड’ प्राप्त गर्न सफल भयो । त्यो सफलतामा पनि पवन गोल्यानको प्रमुख भूमिका रहेको छ। बोर्डले तनाव दिएकै कारण बैंकहरुका कार्यकारी अधिकृत (सीईओ) ले राजीनामा दिएको नेपालमा धेरै दृष्टान्त छन् । तर, पवन गोल्यान यस्ता अध्यक्ष हुन्, जसले आफ्नो बैंकका सीईओलाई प्रगति देखाउन प्रेरित गर्छन् र बैकका हरेक कार्ययोजनामा सीईओलाई सघाउछन ।

उत्पादनमा केन्द्रित गोल्यान समूहले पछिल्लो समय रियलस्टेट र सेवा क्षेत्रमा पनि लगानी बढाएको छ । होटलतर्फ हायात प्यालेसमा लगानी छ भने वेष्टार प्रपर्टिजमार्फत ललितपुरको बालकुमारीमा सुबिधा सम्पन्न अपार्टमेन्ट छ । यी सबैकाे नेतृत्व पवनले नै गर्दै आएका छन्।

त्यस्तै, माथिल्लो बलेफी जलविद्युत् आयोजना (४६ मेगावाट), बलेफी हाइड्रोपावर आयोजना (३६ मेगावाट), भोटेकोशी हाइड्रो (३५ मेगावाट) र केएनबीआर इस्वा हाइड्रोपावर (९७ मेगावाट) निर्माणाधीन छन् भने २० मेगावाटको सोलार परियोजनामा समेत गोल्यानको लगानी छ। पवन गोल्यानले विद्युत्को लागि छुट्टै समूह बनाएका छन्। जलविद्युत् आयोजनाहरुमा उनका छोरा अक्षय गोल्यान समेत प्रत्यक्ष संलग्न छन् ।

गोल्यान समूहको कृषि उद्यम

उद्योगी पवन गाेल्यानले पछिल्लो समय कृषि उद्यममा ठुलाे लगानी बिस्तार गरेका छन् । कृषिप्रधान मुलुकमा ठूलो परिमाणमा कृषि उत्पादन आयात गर्नुपर्ने अवस्था हटाउन सकिन्छ कि भनेर कृषिमा लगानी गरिएको गाेल्यानकाे भनाइ छ । उनकाे कंपनीले झापामा सैयौँ बिघा जग्गा किनेर कागती, आँप, लिची, मेवा, खरबुजा लगायतका फलफूल लगाएको छ । कृषी क्षेत्र नया ब्यबसाय बिस्तारको लागी अवसरको क्षेत्र मान्छन गोल्यान ।

स्थानिय कृषकहरुलाई पनि आधुनिक कृषिमा प्रोत्साहन गरिरहेका छन् गोल्यानले । त्यसका लागि माछा, बंगुर, कुखुरा र गाईपालनका लागि सहयोग गरिहेका छन् । काम गर्न चाहने तर स्रोत नभएका किसानहरुलाई नगद होइन, आवश्यक सामग्रीमा लगानी समेत गरिदिने गरेका छन् ।

झापाको चकचकीमा सुपारी, कागती तथा खरबुजाका विरुवाहरु हुर्किदैछन् । त्योसँगै गाँजर र चुकन्दर त लकडाउनअघि बजारमा पुग्न शुरु भइसकेका थिए । गोल्यानको अर्को फार्म मगरगासमा छ । त्यहाँ लगाइएका ड्रागन फूडले आकास चुम्न खोज्दैछन् । सँगै लगाइएका मेवा तथा कागतीका बोटहरुले सुख्खा मरुभूमिलाई उर्बर बनाइदिएका छन् । केराउ, खोर्सानी, सिमी लगायतका तरकारीले बलौटे माटो पुरै छापिदिएर हरियाली बनाइदिएका छन् । यो कृषि उत्पादन देख्दा स्थानीय आश्चर्यचकित छन् । बलौटोमा पनि गरे त उब्जनी हुने रहेछ नि भन्ने बल्ल दिमागमा घुस्दैछ स्थानीयको ।

ठूलो परिमाणमा लगानी गर्न नसक्ने भएका कारण पनि स्थानीयमा व्यावसायिक खेती गरौं भन्ने भावनाको विकास भएन । तर, अहिले गोल्यानले फार्म सञ्चालन गरेपछि स्थानीय पनि खुसी छन् ।
अर्को रोचक कुरा यहाँको अर्गानिक हो । ठूलो क्षेत्रफलमा व्यावसायिक रुपमा खेती गर्नेहरुले अहिले विषादी प्रयोग गर्छन् । विषादी प्रयोग नगरे विभिन्न प्रकारका किरा, फट्याङ्ग्राका कारण पनि उब्जनी नहुने भएकाले ठूलो परिणाममा खेती गर्ने अधिकांशले विषादी प्रयोग गर्छन् । तर गोल्यानकाे याे फार्ममा कुनै विषादी प्रयोग हुदैन । बजारकाे रासायनिक मल भने प्रयोग गर्छन् ।

गोल्यानका झापाका विभिन्न ४ ठाउँमा फार्म सञ्चालन भइरहेका छन । चारै ठाउँको माटो भने बलौटे माटो हो । बलौटे माटोलाई उर्बर बनाएर अहिले खेती भइरहेको छ । कागती, आँप, लिच्ची, मेवा, खरबुजा लगायतका फलफूल तथा तरकारीले अहिले गोल्यान समूहको फार्म फस्टाउँदैछ । झापाको बाह्रदशी गाउँपालिका राजगढको ३० विगाहा क्षेत्रफलमा मात्रै स्टबेरी लगाइएको छ ।

यसैगरी, झापाको झापा गाउँपालिकाको मदरगास भन्ने ठाउँमा ड्रागन फ्रुट लगाइएको छ । कागती, मेवा, केराउ, खुर्सानी चुकन्दर लगायतका फलफूल तथा तरकारी पनि उत्तिकै फस्टाएका छन् मदरगासमा । बाह्रदशी गाउँपालिकाकै चकचकी भन्ने ठाउँमा ठूलो क्षेत्रफलमा सुपारी लगाइएको छ । त्यहाँ पनि चुकन्दर तथा गाजरहरुले बलौटे माटो थप उर्बर बन्दैछ । उता घेराबारीमा पनि यस्तै फलफूल तथा तरकारी लगाइएका छन् । याे अवस्थामा फार्म अाइपुग्दा गाेयल अाफ्नाे प्रयासले सार्थकता पाएकाे अनुभुत गर्छन ।

कृषीमा अर्बौ लगानी गरेका गोल्यानलाई सुरुमा यो क्षेत्रमा लगानी बिस्तार गर्दा धेरैले घाटाको ब्यापार नगर्न भनेका थिए । तर गोल्यानको लगन र कृषिमा उनले देखेको सपना अहिले साकार भएको देख्दा कृषिमा लगानी नगर्न भन्नेहरुकै बोली रोकिएको छ । नेपालकै अग्रणी ब्यबसायीक घरानाका पवन गोल्यानको यो सफलता नया पुस्ताका उधमीलाई एउटा पाठ हुनसक्छ ।

गोल्यान ग्रुपले अर्गानिक फलफूल तथा तरकारीहरुको बिक्री वितरणका लागि ‘माटो’ ब्राण्ड स्थापना गरेको छ । निर्यातजन्य उद्योगहरु, बैंक तथा वित्तीय संस्था, जलविद्युत् लगायतमा लगानी गरिरहेको यस समूहले कोरोना महामारीपछि ह्याण्ड स्यानिटाइजर समेत उत्पादन गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तोकेको मापदण्ड पूरा गरेर माटो ब्रान्डको स्यानिटाइजर बजार पठाइएको बताएको छ । उक्त स्यानिटाइजरमा नेपाली जडिबुटीहरु प्रयोग गरिएको छ । छालाका लागि पनि साधारण स्यानिटाइजरभन्दा माटो ब्रान्डको स्यानिटाइजर उपयुक्त हुने ग्रुपको दाबी छ ।

गोल्यानकाे सामाजिक कर्म

उद्योगी गोल्यान व्यवसाय संगै सामाजिक काममा पनि उतिकै सक्रिय छन । समाज सेवाका लागि छोरा जयन्तको स्मृतिमा छुट्टै संस्था पनि स्थापना गरेका छन् । १४ वर्षको उमेरमा बितेका छोराको नाममा खोलेको जयन्त गोल्यान फाउण्डेशनले महिला र कृषकलाई आत्मनिर्भर बनाउने सीप विकास, तालिम तथा सहयोग गर्ने गरेको उनी बताउछन ।

एजेन्सी

Comments

Back to top