‘गाजालाई ‘खाली गर्ने’ ट्रम्पको योजना’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई ‘खाली गर्ने’ योजना अघि सारेका छन् । मध्यपूर्वमा शान्ति स्थापनाका लागि इजिप्ट र जोर्डनले प्यालेस्टिनीलाई त्यहाँबाट हटाउनु उचित भएको बताएका हुन् ।

इजरायल-हमास युद्धपछि गाजालाई ‘विध्वंसस्थल’ को संज्ञा दिँदै ट्रम्पले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग यस विषयमा कुरा भएको र आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग कुरा गर्ने योजना रहेको बताए ।

‘इजिप्टले गाजामा रहेका आफ्ना मानिसलाई लिएर जाओस् र जोर्डनले पनि त्यसै गरोस् भन्ने म चाहन्छु,’ ट्रम्पले एयर फोर्स वनमा पत्रकारसँगको कुराकानीमा भने ।

‘तपाईं शायद १५ लाख मानिसको बारेमा चिन्ता व्यक्त गर्दै हुनुहुन्छ, र हामी त्यो सबै खाली गर्न चाहन्छौँ । तपाईंलाई थाहा छ, शताब्दियौंदेखि यो स्थानमा धेरै सङ्घर्ष थिए । मलाई थाहा छैन तर त्यहाँ केहि हुनुपर्छ ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्धका कारण गाजाका २४ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् ।

ट्रम्पले गाजाका बासिन्दालाई स्थानान्तरण गर्नु ‘अस्थायी वा दीर्घकालीन पनि’ हुन सक्ने बताए ।

राष्ट्रपति ट्रम्पले भने, ‘यो वास्तवमै अहिले भत्काइने ठाउँ हो, लगभग सबै ध्वस्त भएको छ र मानिसहरू त्यहाँ मरिरहेका छन् ।’

‘त्यसैले म बरु केही अरब राष्ट्रहरूसँग वार्ता गर्न चाहन्छु र फरक स्थानमा आवास निर्माण गर्न चाहन्छु जहाँ उनीहरू परिवर्तनसँगै शान्तिसाथ बस्न सकून् ।

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनको अन्तिम दिन इजरायल र हमासबीच भएको युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता दोस्रो हप्तामा प्रवेश गरेको बेला उनको उक्त भनाइ आएको हो ।

एजेन्सी

Comments

Back to top