को हुन् राष्ट्रिय विभूति जयपृथ्वी बहादुर सिंह ?

वि. स. २०७९ असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले बझाङ्गी राजा जयपृथ्वी बहादुर सिंहलाई राष्ट्रिय विभूतिमा घोषण गरेको छ । यस अघि १७ जना राष्ट्रिय विभूतिमा गनिने गर्थे । उनी नेपालको १८ औ राष्ट्रिय विभूति भएका छन् ।

मन्त्रिपरिषद बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदर स्वरुप जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

 को हुन् जयपृथ्वी बहादुर सिंह ?

बुवा विक्रम बहादुर सिंह र आमा रुद्र कुमारी सिंहका कोख बाट वि.सं. १९३४ साल भाद्र ७ गते मङ्गलवारका दिन सुदूरपश्चिमको पहाडी जिल्ला  बझाङको, चैनपुरमा जयपृथ्वी बहादुरको जन्म भएको थियो ।

उनी राजपरिवारको सन्तानका रूपमा जन्मेका थिए । नेपालमा मात्र नभई एसियामै उनलाई मानवतावादी व्यक्तिको रूपमा चिनिन्छ । उनको शिक्षादीक्षा काठमाडौँका राणा परिवारसँगै भएको थियो । त्यसैले उनी प्रजा र राजाबीच तत्कालीन समयमा हुने असमानताप्रति असन्तुष्ट रहेको देखिन्छ । उनको प्राथमिक शिक्षा थापाथली दरवार पाठशालामा सम्पन्न भएको थियो । माध्यमिक तहको शिक्षा उनले दरबार हाईस्कुलबाट पुरा गरेपछि वि.सं. १९५१ सालमा भारतको कलकत्ता विश्व विद्यालयबाट म्याट्रिक तहको शिक्षा हासिल गरेका थिए । जयपृथ्वी बहादुर सिंह प्रतिभाशाली व्यक्ति थिए । उनले  वि.सं. १९५२ मा भारतको इलाहावाद कलेजबाट आइए पास गरे ।  यसका साथै वि.सं. १९६२ मा कलकत्ता विश्वविद्यालयबाट कानुन विषयमा स्नातक तह पास गरे  ।

उनलाई आफ्नो बुझाई प्रति विश्वास भएका कारण, राणा परिवारले जनताप्रति गर्ने असमान व्यबहार मन पर्दैन थियो । वि.सं. १९४७ मा जयपृथ्वी बहादुर सिंह काठमाण्डौमा अध्ययन गरिरहेकै बेला बुबा विक्रम बहादुर सिंहले कान्छी रानी पार्वतीसँग विवाह गरे । तर, कान्छी रानी दरबारीया थर कि नभएको भन्दै, राणाहरूले विक्रम बहादुर सिंहलाई राजा हटाएर युवराज जयपृथ्वी बहादुर सिंहलाई राजा बनाए । बुवा हुँदा हुँदै आफूलाई राजा बनाएको प्रति जयपृथ्वी बहादुर सिंह असन्तुष्ट थिए । यसरी हेर्दा के बुझ्न सकिन्छ भने, उनी तत्कालीन समयको जात व्यवस्था विरोधी थिए ।

दूरदर्शी र प्रगतिशील विचार भएका राजा

जयपृथ्वी बहादुर सिंहले लेखेको ‘अक्षराङ्क शिक्षा’ नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । उनैले लेखेको ‘प्राकृतव्याकरण’ नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट वि.सं. १९६९ प्रकाशित भएको थियो । जयपृथ्वीबहादुर सिंहले लेखेका नेपाली भाषाको पुस्तक ‘अक्षराङ्क’मा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाब समावेश गरिएका छन् ।

उनको अक्षराङ्क भन्ने पुस्तकमा विभिन्न धर्मबारे लेखिएको छ । इस्लामी धर्म, इसाई धर्म, बौद्ध धर्म र हिन्दु संस्कारबारे उनले लेखेका छन् । जयपृथ्वी बहादुर सिंह सबै धर्मलाई समान रूपमा सम्मान गर्ने व्यक्ति थिए । त्यो समयको राज्य प्रणाली विरुद्धमा गएर यसरी स्वतन्त्र रूपले अन्य धर्मबारे लेख्नु भनेको सोझो-सोझो रूपमा राणाको खिलाफ जानू थियो ।

उनैले वि.सं. १९५८ सालमा गोरखापत्र पत्रिका प्रकाशनमा ल्याएका थिए । सञ्चारको भूमिकालाई चेतना विकासको मूल आधार बनाई आफैँ गोरखापत्र संस्थानका सञ्चालक र प्रधान सम्पादक समेत भए । नेपाली साहित्यमा उनको योगदान अतुलनीय रहेको छ । उनी आफैँ साहित्यकार थिए । लेख, रचना, कथा ,कविता, नाटक, जानकारी सूचना प्रकाशन गरेका थिए ।

वि.सं. १९६२ मा शैक्षिक विकासका लागि उनले सत्यवादी पाठशाला खोलेका थिए । नेपाली समाजको चेतनाको वृद्धि भए, ‘राणा कमजोर हुन्छन् र राज्य सत्ता हातबाट खोसिन्छ’ भन्ने राणाहरूका लागि जयपृथ्वि चुनौतीका रूपमा उभिएका थिए ।

उनको ख्याति नेपालमा मात्र नभई देशविदेशमा समेत रहेको पाइन्छ । ३१ औं अमेरिकी राष्ट्रपति हर्वट हुवरले सन् १९३३ मा अमेरिकामा भएको विश्व आस्था सम्मेलनमा अतिथिको रूपमा निम्ता गरेका थिए । त्यो समयमा उनी त्यहाँ पुग्ने एक्ला नेपाली हुन् । त्यसैगरी सन् १९२९ मार्च २५ देखि सेप्टेम्बर ४ सम्म युरोपमा मानवतावादबारे चर्चा गर्न निम्तो पाउने उनी अहिलेसम्मकै एक्ला नेपाली हुन् ।

उनले तत्कालीन बझाङको समुदायलाई आर्थिक रूपमा उकास्नका लागि उद्योग र मालसामान बनाउने उत्पादनशील कामको तालीम समेत दिलाउने गर्थे । बझाङ्गको व्यासीको तामा खानी, कडेलको धाउ–फलाम) खानीको प्रशोधन, धमेनाको फलाम खानी जस्ता ठाउँमा कामदारलाई तालिम दिलाउन काठमाडौँबाट कालिगड बोलाएका थिए ।

सरकारले  ढिलोगरी भएपनि  जयपृथ्वी बहादुर सिंहको योगदानलाई कदर गरेको छ । उनको योगदानलाई हेर्दा उनी पनि पश्चिमी समुदाय साथै सम्पूर्ण नेपालीले श्रद्धा र आदर गर्नु पर्ने व्यक्ति हुन् ।

एजेन्सी

Comments

Back to top