अमेरिकालाई विश्व स्वास्थ्य सङ्गठनबाट अलग्याउन राष्ट्रपति ट्रम्पको आदेश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट अमेरिकालाई बाहिर निकाल्ने प्रक्रिया शुरू गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।
पहिलो कार्यकालमा पनि डब्ल्यूएचओसँग रुष्ट बनेर अमेरिकालाई बाहिर निकाल्ने घोषणा गरेकाे ट्रम्पले दोस्रो कार्यकालको शुरुआतकै दिन फेरि बाहिरिने आदेश दिएको बीबीसीले जनाएको छ ।
कार्यकारी आदेश भनेको राष्ट्रपतिले नीतिगत परिवर्तनहरू लागू गर्न सक्ने तरिकाहरूमध्ये एक हो । जसका लागि सांसदहरूको मत हासिल गर्न आवश्यक पर्दैन ।
अरू देशहरूको तुलनामा अमेरिकाले डब्ल्यूएचओका लागि अनुचित मूल्य चुकाएको ट्रम्पको भनाइ छ । अमेरिका विश्व स्वास्थ्य सङ्गठनको सबैभन्दा ठूलो दाता हो । सन् २०२३ मा अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनको बजेटको २० प्रतिशत अर्थात् १ अर्ब ३६ करोड डलर सहयोग गरेको थियो । अमेरिकाले वर्षेनि डब्ल्यूएचओको बजेटको १५ देखि २० प्रतिशत हिस्सा सहयोग गर्दै आएको छ । अमेरिकाले विभिन्न स्वास्थ्य कार्यक्रम, अनुसन्धान र आपत्कालीन प्रतिक्रियामा पनि सहयोग गर्दै आएको छ ।
यसअघि कोभिड–१९ को विषयमा डब्ल्यूएचओले चीनको पक्ष लिएको भन्दै ट्रम्पले अमेरिका विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिएको घोषणा गरेका थिए । जो बाइडेन राष्ट्रपति भएपछि अमेरिका पुनः विश्व स्वास्थ्य सङ्गठनमा सहभागी भएको हो ।
एजेन्सी
Comments