गार्डियन माइक्रो लाइफको आइपीओ माघ ६ गते आइतबार बाँडफाँड हुने
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ माघ ६ गते बाँडफाँड हुने भएको छ । उक्त आइपीओ कुमारी क्यापिटलको कार्यालयमा विहान ९ बजे बाँडफाँड गर्ने जनाइएको छ ।
इन्स्योरेन्स कम्पनीको आइपीओ प्रि–अलोटमेन्ट सम्पन्न गरी आइतबार बाँडफाँडको तयारी गर्ने क्यापिटलले जनाएको छ।
इन्स्योरेन्स कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पुस २१ गते आइपीओ बिक्री खुला गरेको थियो । इन्स्योरेन्स कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो।
इन्स्योरेन्स कम्पनीले दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो।
निष्काशनको अन्तिम दिन आइपीओमा १३ गुणा बढी आवेदन परेको थियो । डीएससीको तथ्यांकअनुसार अन्तिम दिनसम्म आइपीओमा १९ लाख ६ हजार ७८४ जनाले २ करोड ५१ लाख ९० हजार ३६० कित्ता शेयर खरिद आवेदन दिएका थिए । यो भनेको मागभन्दा १३.६५ गुणा बढी हो।
मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँड हुनेछ । यस हिसावमा १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाउनेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिने व्यवस्था थियो । गार्डियन माइक्रो लाइफ आइपीओ अनुमति पाउने र जारी गर्ने पहिलो लघु बीमा कम्पनी हो।
एजेन्सी
Comments