पहिलो चरणअन्तर्गत इजरायलले ७ सय ३७ जना कैदी बन्दीलाई रिहा गर्ने
इजरायलको न्याय मन्त्रालयले गाजा युद्धविराम र बन्धक मुक्त गर्ने स्विकृत सम्झौताको पहिलो चरणअन्तर्गत सात सय ३७ जना कैदी बन्दीलाई रिहा गर्ने जनाएको छ । इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिअनुसार सरकारले अहिले कारागार सेवाको हिरासतमा रहेका सात सय ३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ ।
मन्त्रालयले पुरुष, महिला र बालबालिकालाई स्थानीय समयअनुसार भोलि बिहानको दुई बजे रिहा गर्ने जनाएको छ। यसअघि मन्त्रालयले गाजामा रहेका इजरायली बन्दीको बदलामा रिहा हुने ९५ जना प्यालेस्टिनी कैदीको सूची प्रकाशित गरेको थियो ।
इजरायलको न्याय मन्त्रालयका प्रवक्ता नोगा काट्जले पहिलो पटक रिहा हुने कैदीको अन्तिम सङ्ख्या हमास लडाकु समूहद्वारा रिहा गरिएका जीवित बन्धकको सङ्ख्यामा निर्भर हुने बताउनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इजरायलको मन्त्रिपरिषद्ले हमाससँग गाजामा युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतालाई गएराति अनुमोदन गरेको हो ।
एजेन्सी
Comments