चिनियाँ नागरिकको अपहरण आरोपमा भीमफेदीबाट चार भारतीय पक्राउ
चिनियाँ नागरिक अपहरणको आरोपमा चारजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई बुधबार मकवानपुरको भीमफेदीबाट नियन्त्रणमा लिइएको हो।
काठमाडौंबाट मङ्गलबार चिनियाँ नागरिक अपहरण गर्ने कार्यमा संलग्न भएको अभियोगमा भीमफेदी गाउँपालिका –६ स्थित जुरिखेतबाट भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत महाराष्ट्र राज्य सतरा जिल्लाका वर्ष ३२ का आशुतोष दत्तात्रेय, महाराष्ट्र राज्य सतरा जिल्ला हमद नगरका वर्ष ३० का अमोल करमाटे, महाराष्ट्रका वर्ष ४० का अफसर सेख र वर्ष ३३ का अमोल श्रीसत रहेका छन् ।
इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक ललिता ढकाल नेतृत्वको टोलीले हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा गन्तव्यमा गइरहेको गाडीमा खोजतलाश गर्नेक्रममा चार जनालाई जुरिखेतबाट नियन्त्रणमा लिएको थियो ।
उनीहरू सवार एमएच १६ डीजी ४९०४ नम्बरको भारतीय गाडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षक ढकालका अनुसार अपहरणमा पर्ने र अपहरण गर्ने समूह अपराधमा संलग्न रहेको बुझिएको छ । चिनियाँ नागरिकले अवैध खेल खेलाएर ठगी गरेको भन्दै भारतीय नागरिकले उनलाई गाडीमा राखेर काठमाडौंको एक होटलबाट अपहरण गरेको पाइएको छ ।
चारैजनालाई अनुसन्धान र आवश्यक कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिआएको प्रहरी टोलीको जिम्मा लगाएको प्रहरी निरीक्षक ढकालले जानकारी दिइन् ।
एजेन्सी
Comments