दक्षिण अफ्रिकाको सुनखानीमा फसेका चार सयमध्ये सयको मृत्यु

दक्षिण अफ्रिकाको सुनखानीमा फसेका १०० भन्दा बढी कामदारको मृत्यु भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार खानीमा दुई महिनादेखि ४०० भन्दा बढी कामदारहरू थुनिएका थिए। उनीहरु सबै अवैध रुपमा सुन उत्खनन गर्न खानीमा प्रवेश गर्ने क्रममा उनीहरू थुनिन पुगेका हुन् । 

ठूलो संख्या खानी मजदुरको मृत्यु भएको बाहिरिएपछि राहत र उद्धारका लागि विशेष खानी उद्धार टोली घटनास्थलमा पठाइएको छ । समाचार अनुसार भोक र तिर्खाका कारण मजदुरको ज्यान गएको जनाइएको छ ।

हालसम्म १३ जनाको शव निकालिएको छ । खासमा उद्धार गरिएका कामदारहरूबाट एउटा सेलफोन भेटिएको थियो, जसमा २ भिडियो भेटिएको थियो। यी भिडियोमा दर्जनौं शव पोलिथिनमा बेरिएको देखाइएको छ ।

खानीमा काम गर्ने मजदुरसँग सम्बद्ध सामाजिक संस्था माइनिङ इफेक्टेड कम्युनिटीज युनाइटेड इन एक्सन (म्याकुए)का अनुसार प्रहरीले गत नोभेम्बरदेखि अवैध उत्खननविरुद्ध कारबाही थालेको थियो । 

प्रहरीले यो खानी सिल गर्ने प्रयास गरेको थियो । यसका लागि मजदुरलाई बाहिर आउन आग्रह गरिएको पनि थियो तर  पक्राउ पर्ने डरले कामदारले खानीबाट बाहिर निस्कन नै मानेनन् । त्यसयता ती मजदुरहरू लामो समय देखी खानीमा नै फस्न पुगेका थिए ।

मजदुरहरूले अस्वीकार गरेपछि प्रहरीले खानी भित्र पस्न र निस्कन प्रयोग गरिने डोरी र पुली हटाएको मकुआले जनाएको छ । त्यसपछि कामदार खानीमै अलपत्र परेका थिए।

दक्षिण अफ्रिकी अखबार सन्डे टाइम्सका अनुसार उद्धार टोलीले एउटा पिंजरा तयार पारेको छ, जसलाई खानीमा ३ किलोमिटर तल झर्ने काम भइरहेको छ । यो पिंजराको सहायताले पहिले बाँकी रहेकालाई बाहिर निकाल्ने काम भइरहेको जनाएको छ । फसेका मजदुरलाई बाहिर निकाल्नका लागि कम्तीमा १६ दिन लाग्ने आँकलन गरिएको छ । 

एजेन्सी

Comments

Back to top