जबालियामा इजरायली हवाई आक्रमण : कम्तीमा १५ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा निकायले बुधबार राति सहरको उत्तरी भागमा रहेको जबालियामा एक घरलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको बताएको छ ।

अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजामा विशेष गरी जबालिया सहर र यसको छेउछाउको शरणार्थी शिविरलाई लक्षित गर्दै ठूलो भूमि र हवाई आक्रमण गरिरहेको छ ।

सेनाले आक्रमण हमास लडाकूहरूलाई त्यहाँ पुनर्गठन हुनबाट रोक्ने प्रयास भएको बताएको छ । यद्यपि उद्धारकर्ताहरूले आक्रमणले पहिले नै हजारौँ नागरिकको ज्यान लिइसकेको बताएका छन् ।

‘जबालिया सहरमा विस्थापित मानिसहरू बसिरहेको घरमा मध्यरातपछि भएको यो नरसंहारमा १५ जना मारिए र २० जनाभन्दा बढी घाइते भए,’ नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भने ।

सम्पर्क गर्दा इजरायली सेनाले रिपोर्ट गरिएको आक्रमणबारे अनुसन्धान गरिरहेको बतायो ।

बासलले घरमा बस्नेहरू बद्रा, अबु वर्दा र तरुस परिवारका सदस्यहरू रहेको बताए । उनीहरूले त्यहाँ शरण लिएका थिए ।

गत वर्ष अक्टोबर ७ मा युद्ध सुरु भएदेखि गाजाका २४ लाख मानिसमध्ये अधिकांश कम्तीमा एक पटक विस्थापित भएका छन् ।

जबालियाको आक्रमणमा मृत्यु भएका र घाइतेहरूलाई अल–ममदानी अस्पतालमा लगिएको आफ्नो पहिलो नाम बताउने उद्धारकर्ता मोहम्मदले जानकारी दिए ।

‘उनीहरूलाई लक्षित घरको भग्नावशेषमुनिबाट बाहिर निकालिएको थियो,’ उनले भने । केही पीडितका आफन्तका अनुसार उद्धारकर्ताहरूले अझै पनि भग्नावशेषमुनि बाँचेका व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

एजेन्सी

Comments

Back to top