भीम रावलले नयाँ पार्टी घोषणा गर्दै
नेकपा एमालेबाट कारबाहीमा परेका नेता भीम रावलले नयाँ पार्टी बनाउने भएका छन् ।
उनले नयाँ पार्टी घोषणा गर्नका लागि आगामी बुधबार पत्रकार सम्मेलन बोलाएका छन् । कार्की बैन्क्वटमा बुधबार दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन बोलाइएको छ ।
रावलको सचिवालयका अनुसार उक्त पत्रकार सम्मेलनमा पार्टी घोषणा गर्न अहिले आन्तरिक गृहकार्य भइरहेको छ । रावलले अहिले आफू समर्थक विभिन्न नेता कार्यकर्तासँग छलफल गरिरहेका छन् ।
रावलको टेलिफोन उठाएका सचिवालयका व्यक्तिले नेपालभ्युजसँग पत्रकार सम्मेलन आयोजना गरिएको र त्यहाँबाट केही नयाँ घोषणा हुने बताए ।
उनले भने, ‘उहाँ अहिले छलफलमा हुनुहुन्छ । बुधबार पत्रकार सम्मेलन बोलाएको पक्का हो । त्यहीबाट विशेष घोषणा गर्नका लागि उहाँले भेटघाट तीव्र पार्नु भएको छ ।’
नयाँ पार्टी घोषणा गर्न लागेको हो ? भन्ने प्रश्नमा उनले भने, ‘अब जे पनि हुन सक्छ । त्यही पत्रकार सम्मेलनबाट नै धेरै कुरा थाहा हुन्छ ।’
रावल निकट स्रोतका अनुसार पार्टी खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ । अहिले त्यसको साङ्गठनिक स्वरूपबारे छलफल भइरहेको छ ।
रावलको नयाँ पार्टीमा सुदूरपश्चिमका नेकपा एमाले र काङ्ग्रेसमा असन्तुष्ट रहेका केही नेता सहभागी हुने सम्भावना रहेको बताइएको छ । यद्यपि नयाँ पार्टीमा कोको नेता सहभागी हुने भनेर अहिलेसम्म टुङ्गो लागिसकेको भने छैन ।
नेकपा एमालेले पार्टीविरुद्ध अभिव्यक्ति दिएको भन्दै अघिल्लो हप्ता रावललाई सङ्गठित सदस्यबाट समेत निस्कासित गरेको थियो ।
एजेन्सी
Comments