जिम्मी कार्टर : बदाम किसानदेखि अमेरिकी राष्ट्रपतिसम्म

अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ ।

कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समयसम्म बाँच्ने पूर्व राष्ट्रपति हुन् । उनले हालै अक्टोबरमा आफ्नो १००औं जन्मदिन मनाएका थिए ।

विश्वभर प्रजातन्त्र र मानवअधिकारको वकालत गर्ने पहल गर्दै कार्टरले कार्टर सेन्टर स्थापना गरेका थिए, सो केन्द्रले पूर्व राष्ट्रपतिको निधन भएको पुष्टि गरेको थियो ।

कार्टर सेन्टरले जिम्मी कार्टरको आइतबार जर्जियास्थित उनको निवासमा निधन भएको जनाएको छ ।

कार्टर, एक समय बदाम किसान जसले राष्ट्रपति हुँदा भियतनाम युद्धमा सामेल हुन अस्वीकार गर्ने अमेरिकी युवाहरूलाई माफी दिएका थिए । उनी जलवायु परिवर्तनलाई गम्भीरताका साथ लिने पहिलो अमेरिकी नेता थिए ।

अन्तर्राष्ट्रिय स्तरमा उनले इजरायल र इजिप्टबीच शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका खेले पनि इरानमा बन्धक सङ्कट र अफगानिस्तानमा सोभियत सङ्घको आक्रमणजस्ता मुद्दामा उनले सङ्घर्ष गर्नुपरेको थियो ।

कार्टरले सन् १९७९ मा अमेरिकाले चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरेर चीनसँग मित्रताको सुरुवात गरेका थिए । यसको अर्थ अमेरिकाले ताइवानसँगको सम्बन्ध तोड्नुपरेको थियो र ताइपेईको दूतावास बन्द गर्नुपरेको थियो ।

कार्टरले राष्ट्रपतिको रूपमा एक कार्यकाल सेवा गरे, तर सन् १९८० को चुनावमा रोनाल्ड रेगनसँग नराम्ररी पराजित भए । कार्टरले छ वटा राज्य मात्र जिते ।

विश्व शान्ति, जलवायु परिवर्तन र मानवअधिकारमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै कार्टरलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

कार्टरकी श्रीमती रोजालिनको नोभेम्बर २०२३ मा मृत्यु भएको थियो । आफ्नी श्रीमतीलाई श्रद्धाञ्जली अर्पण गर्दै कार्टरले लेखेका थिए, “मैले जे पनि हासिल गरेको छु, त्यसमा उहाँ मेरो बराबरको साझेदार हुनुहुन्थ्यो ।”

बास्केटबल र धर्मको लागि प्रेम

जिमी कार्टरको पूरा नाम जेम्स अर्ल कार्टर जूनियर हो । उनको जन्म अक्टोबर १, १९२४ मा जर्जियाको एउटा सानो शहर प्लेन्समा भएको थियो । चार दाजुभाइमध्ये उनी जेठो थिए ।

उनका बुवा बदाम किसान थिए र उनकी आमा पेशाले नर्स थिइन् ।

जिमी आफ्नो स्कूलको समयमा एक उत्कृष्ट बास्केटबल खेलाडी थिए । उनले अमेरिकी नौसेनामा सात वर्ष सेवा गरे र यस अवधिमा उनले आफ्नी बहिनीकी साथी रोजालिनसँग विवाह गरे ।

जिमी अमेरिकी नौसेनामा पनडुब्बी अधिकारी थिए । तर, सन् १९५३ मा बुवाको निधनले घर फर्केर खेतीपातीमा लागे ।

खेतीमा कार्टरको पहिलो वर्ष धेरै खराब थियो, त्यो वर्ष ठूलो खडेरी पर्‍यो र बाली बर्बाद भयो । तर, कार्टरले हार मानेनन् र खेतीलाई सफल व्यवसाय बनाए ।

यससँगै उनले राजनीतिमा पनि हात खोज्दै स्थानीय चुनाव जित्न थाले । जर्जियाबाट सिनेटको चुनाव लड्नुअघि उनले लाइब्रेरी बोर्डको चुनाव पनि जितेका थिए ।

दुई पटक सिनेटमा निर्वाचित भएपछि कार्टर सन् १९७० मा जर्जियाको गभर्नर बने । त्यसपछि उनले नागरिक अधिकारका लागि धेरै काम गरे ।

राष्ट्रपतिका रूपमा आफ्नो पहिलो सम्बोधनमा उनले जातीय भेदभावमाथि हमला गरे । उनी स्पष्टसँग भन्थे,”जातीय भेदभावको युग सकिएको स्पष्टसँग भन्न चाहन्छु ।”

उनले मार्टिन लुथर किङको तस्वीर अमेरिकी संसद्‌को भित्तामा राखे र अफ्रिकी-अमेरिकीहरूलाई सरकारी कार्यालयहरूमा नियुक्त गरेको सुनिश्चित गरे ।

यद्यपि, कार्टरलाई इसाई धर्म र उदारवादलाई सन्तुलनमा राख्न गाह्रो थियो । तर, गर्भपतनसम्बन्धी ऐनको कुरा आएपछि उनले गर्भपतनलाई समर्थन गरे पनि त्यसका लागि पर्याप्त रकम उपलब्ध गराउन सकेनन् ।

राष्ट्रपतिको रूपमा आफ्नो कार्यालयको पहिलो दिनमा कार्टरले लाखौं अमेरिकी युवाहरूलाई माफीको घोषणा गरे, जसले भियतनाममा युद्धमा जान अस्वीकार गरेका थिए ।

उनका एक कटु आलोचक ब्यारी कोल्डवाटरले यो निर्णयलाई अत्यन्तै लाजमर्दो भनेका थिए । कार्टरले पनि स्वीकार गरे कि यो उनको लागि सबैभन्दा कठिन निर्णय थियो ।

कार्टरले महिलाहरूलाई धेरै महत्त्वपूर्ण पदहरूमा नियुक्त गरे । यसबाहेक उनी जलवायु परिवर्तनलाई गम्भीरताका साथ लिने पहिलो अमेरिकी राष्ट्रपति थिए ।

कार्टरले व्हाइट हाउसमा जीन्स र स्वेटर लगाए र गर्मी उत्प्रेरित गर्ने विद्युतीय उपकरणहरू बन्द गरे । यसले विद्युत अर्थात् ऊर्जालाई गम्भीरतापूर्वक लिनुपर्ने सन्देश दिएका थिए ।

उनले छतमा सौर्य प्यानलहरू स्थापना गरे । यद्यपि रोनाल्ड रेगन, जसले उनीपछि राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरे र यी प्यानलहरू हटाइदिए ।

कार्टरका लागि चुनौती

अमेरिकी अर्थतन्त्रको मन्दीपछि कार्टरको लोकप्रियता पनि घट्न थाल्यो । देशलाई ऊर्जा सङ्कटबाट बाहिर निकाल्न पेट्रोल, डिजेलको राशनलगायतका कडा कदम चाले पनि संसद्‌मा उनको ठूलो विरोध भयो ।

युनिभर्सल हेल्थकेयर सिस्टम पनि संसद्‌बाट पारित हुन नसकेको र बढ्दो बेरोजगारी र ब्याजदरले कार्टरको समस्या बढायो ।

कार्टरले सन् १९७८ मा इजिप्ट र इजरायल बीचको सम्झौताको मध्यस्थतामा महत्त्वपूर्ण भूमिका खेले र यसका लागि धेरै प्रशंसा पाए, तर इरानमा अमेरिकी नागरिकहरूको बन्धक सङ्कटले कार्टरलाई निराश बनायो ।

यसबाहेक अफगानिस्तानमा सोभियत सङ्घको आक्रमणले पनि उनको परीक्षा गरेको थियो । बन्धक सङ्कट समाधान गर्न कार्टरले इरानसँग कूटनीतिक सम्बन्ध तोड्यो र त्यहाँ धेरै प्रतिबन्धहरू पनि लगाए ।

लोकप्रियता र रेगनसँग हार

सन् १९८० मा उनले आफ्नो डेमोक्रेटिक पार्टीको मनोनयनको लागि सिनेटर एडवर्ड केनेडीबाट गम्भीर चुनौतीको सामना गरे र सफल भए । तर, त्यसपछि भएको निर्वाचनमा उनले ४१ प्रतिशत मात्रै मत ल्याएका थिए ।

उनलाई रिपब्लिकन पार्टीका रोनाल्ड रेगनले चुनावमा पराजित गरेका थिए ।

आफ्नो कार्यकालको अन्तिम दिन कार्टनले इरानको बन्धक सङ्कटको अन्त्यको घोषणा गरेका थिए । तर, बन्धक अमेरिकी नागरिकले राष्ट्रपति रेगनको शपथ समारोहपछि मात्र इरानबाट अमेरिका जान पाए ।

जब उनले पद छोडे, उनको लोकप्रियता कुनै पनि अन्य अमेरिकी राष्ट्रपतिको तुलनामा सबैभन्दा कम थियो । तर, पछिका वर्षहरूमा उनको प्रतिष्ठामा सुधार भयो ।

कार्टरले अमेरिकी सरकारको तर्फबाट उत्तर कोरियासँग वार्ता गरे । साथै, वर्ष २००२ मा कार्टर थियोडोर रुजवेल्ट र वुडरो विल्सनपछि नोबेल पुरस्कार जित्ने तेस्रो राष्ट्रपति बने । पद छाडेपछि यो प्रसिद्ध पुरस्कार पाउने उनी पहिलो राष्ट्रपति बने ।

नोबेल पुरस्कार ग्रहण गरेपछि आफ्नो भाषणमा कार्टरले भनेका थिए, “पृथ्वीको सबैभन्दा गम्भीर समस्या सबैभन्दा धनी र गरिब बीचको बढ्दो खाडल हो ।”

नेल्सन मण्डेलासँग मिलेर उनले ‘द एल्डर्स’ नामक संस्था गठन गरे, जुन विश्वका नेताहरूको समूह शान्ति र मानवअधिकारका लागि काम गर्दछ ।

सेवानिवृत्त भएपछि कार्टरले सरल जीवन शैलीलाई प्राथमिकता दिए । उनले आकर्षक भाषणहरू र कर्पोरेट जगतलाई बेवास्ता गरे ।

आफ्नो अध्यक्षतादेखि नै उनले आफू पैसा कमाउन नचाहेको स्पष्ट रूपमा भनेका थिए । कार्टर ओभल अफिसमा आफ्नो समयबाट पैसा कमाउन चाहँदैनथे ।

कार्टरले एक पटक वाशिङ्गटन पोस्टलाई भनेका थिए, “यसमा के गलत छ ? पैसा कमाउने मानिसहरू गलत छैनन्। तर, धनी बन्ने मेरो महत्वाकांक्षा कहिल्यै थिएन ।”

वाशिङ्गटन पोस्टका अनुसार कार्टरको घरको मूल्य १६७,००० डलर थियो । यो उनीहरूको सेवामा खटाइएको गोप्य सेवा वाहनहरू भन्दा कम थियो ।

सन् २०१५ मा उनले आफू क्यान्सरबाट पीडित भएको र उपचार गराइरहेको बताएका थिए । कार्टरको जीवनमा धर्मको विशेष स्थान थियो ।

उनले एक पटक भनेका थिए, “तिमीले सार्वजनिक सेवा र धर्म बीचको बन्धन तोड्न सक्दैनौँ । मैले भगवान र मेरो राजनीतिक कर्तव्य बीच कुनै द्वन्द्व भेटेको छैन ।”

नेपालका मित्र

कार्टरले नेपालमा पाँच पटक भ्रमण गरेका थिए । जसले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको थियो ।

उनी सन् १९८५ मा पहिलो पटक नेपाल आएका थिए । जस क्रममा उनले ग्रामीण विकास र स्वास्थ्य सेवाका परियोजनाहरूको निरीक्षण गरे ।

त्यसपछि उनी सन् २००७ मा दुईपटक नेपाल भ्रमणमा आए । पहिलो भ्रमणमा उनले नेपालका ग्रामीण समुदायसँग भेटघाट गरेका थिए । भने दोस्रो भ्रमणमा नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्‍याउन उनको कार्टर सेन्टरको तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सन् २००८ मा उनले नेपालको संविधानसभाको निर्वाचन पर्यवेक्षण गर्न नेपाल आए, जसले लोकतान्त्रिक प्रक्रियामा ऐतिहासिक योगदान पुर्‍यायो।

त्यसपछि सन् २०१३ मा उनको भ्रमणले स्वास्थ्य तथा ग्रामीण विकासका परियोजनाहरूमा कार्टर सेन्टरको भूमिकालाई सुदृढ गरेको थियो।

अन्तिमपटक उनी सन् २०१५ मा नेपाल आएका थिए । जसमा उनले भूकम्पपछिको पुनर्निर्माण र राहतकार्यमा पनि चासो दिएका थिए ।

एजेन्सी

Comments

Back to top