सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ

हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेको रक्षा विभाग (डीओडी)ले जनाएको छ ।

पेन्टागनका प्रवक्ता प्याट राइडरले नियमित पत्रकार सम्मेलनमा भने, ‘हामीले सिरियामा करिब ९०० अमेरिकी सेना तैनाथ गरिरहेकोमा थप एक हजार १०० सेना त्यहाँ पठाउने सुनिश्चित गरेका छौं । आईएसआईएस मिसनलाई पराजित गर्न मद्दत गर्ने यी सेनाहरू असद शासनको पतन हुनुअघि नै त्यहाँ थिए ।’

नोभेम्बर २७ मा हयात तहरीर अल–शाम (एचटीएस)को नेतृत्वमा सिरियाली सशस्त्र विपक्षीहरूले एलेप्पो र इडलिब प्रान्तहरूमा सरकारी सेनाहरूविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेका थिए ।

आक्रमणलगत्तै डिसेम्बर ७ सम्म राष्ट्रपति बसर असदका विपक्षीहरूले अलेप्पो, हामा, दारा र होम्सलगायत धेरै प्रमुख शहरहरू कब्जा गरेका थिए ।

डिसेम्बर ८ मा तिनीहरू दमस्कस प्रवेश गरेलगत्तै असदले राजीनामा दिए अनि देश छोडे । यसले सिरियामा अल–असद परिवारको ५० वर्षभन्दा बढी समयको कठोर शासनको अन्त्य भयो ।

डिसेम्बर १० मा मोहम्मद अल–बशीरले सन् २०२५ मार्च १ सम्म सिरियाको अन्तरिम सरकारको प्रमुखको रूपमा आफ्नो नियुक्ति घोषणा गरेका छन् ।

एजेन्सी

Comments

Back to top