माथिल्लो तामाकोशी सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रमा विद्युत् कटौती
गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पुन:सञ्चालनमा नआउँदासम्म औद्योगिक ग्राहकका लागि साँझको समयमा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय प्रसारण लाइनमा जोडिएका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको उत्पादन बन्द हुँदा हिउँदयाममा विद्युत् व्यवस्थापन गर्न कठिनाइ भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । माग व्यवस्थामा समस्या हुँदा विद्युत् बढी खपत हुने साँझको समय (पिक आवर)मा औद्योगिक ग्राहकका लागि विद्युत् आपूर्ति कटौती गर्नुपरेको उनको भनाइ छ ।
माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने औद्योगिक क्षेत्रको विद्युत् केही कटौती भए पनि अन्य ग्राहकका लागि विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ । हिउँदयाममा खोला तथा नदीमा पानी घट्दा नदी प्रवाही (रन अफ रिभर-आरओआर) जलविद्युत् आयोजनाको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक आवरमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ ।
माथिल्लो तामाकोशी यही पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने गरी मर्मत भइरहेको छ । प्राधिकरणका अनुसार हिउँदयामको विद्युत् माग व्यवस्थापन गर्न भारतको केन्द्रीय विद्युत् प्राधिकरणले आगामी चैत २ गते (१५ मार्च २०२५)सम्म ढल्केबर-मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर-महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न अनुमति दिएको छ । तर, पिक आवर साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत् आयात गर्न नपाउने व्यवस्था छ ।
चैत ३ गते २०८१ देखि असार १६ गते २०८२ (१६ मार्च-३० जुन २०२५) सम्म सोलार आवर अर्थात बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिएको छ। कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी बन्द रहेको र पिक आवरका चार घण्टा भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए ।
एजेन्सी
Comments