मंसिर २७ गतेदेखि बलेफी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

मंसिर २७ गतेदेखि बलेफी हाइड्रोपावरले  १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

उक्त हकप्रद सेयरको लागि यसले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले पुस १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस हकप्रद सेयरलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गर्नेछ ।

यसमा लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

कम्पनीले बैंकको ऋण तिर्नका लागि हकप्रद निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ ।

हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

एजेन्सी

Comments

Back to top