निम्न मध्यमवर्गीय परिवारका जीवा यसरी बने अर्बपति

जीवा लामिछाने अर्थात चर्चित र सफल व्यवसायी । यो धेरैले सुनेको नाम हो । तरपनि उनको सफलताको यात्रा भने कमैलाइ मात्र थाहा हुनसक्छ । गाउँघरको शिक्षादेखि रसिया र यूरोपसम्म जीवाको नाम फैलिएको छ । यसक्रममा जीवनका अनेक आरोह–अवरोह कसरी पार गरे त जीवाले ? प्रस्तुत छ –उनको रोचक जीवन कहानी ।

चितवन जिल्लाको दक्षिण भुभाग राप्ती खोलापारीको एक दुर्गम गाउँ । जसको नाम हो पदमपुर । जहाँ हरेक वर्षको वर्षायाममा राप्ती खोलाले अन्न उब्जाउने खेत बगरमा परिणत गराँउछ । अर्कोतिर जंगलको छेउमै रहेको गाउँमा जंगली हात्ती, बाघ, भालु र गैंडाको आक्रमण हुने नै भयो । कतिले तिनै जंगली जनवारको शिकार हुनुपथ्र्यो पनि । बाटो थिएन, डुंगाबाट खोला तर्दै बजार पुग्नुपथ्र्यो । बत्तीको त कुरै नगरौं– टुकीकै भरमा रात कटाउनुपथ्र्यो । त्यही टुकीकै उज्यालोबाट आज उनी विश्वभरी चम्किएका छन् ।

उनी अर्थात जीवा लामिछाने। हुन त धेरै नेपालीहरुको संघर्ष यस्तै टुकीहरुबाटै सुरु भएको छ । त्यो टुकीले उज्यालो नदिएको भए सायद आज जीवा लामिछानेको जीवनमा यति धेरै उज्यालो आउने थिएन। तिनै जीवा लामिछाने जन्मिएको ठाउँ हो पदमपुर । पदमपुरबाट रसियासम्मको यात्रामा उनले धेरै आरोह अवरोह पार गरेका छन् । बिजुली नभएको ठाउँमा जन्मिएका जीवाले आज मुलुकलाई उज्यालो दिन ठूलठूला जलविद्युत् आयोजनामा लगानी गरेका छन् । यतिमात्रै होईन सामाजिक सेवामा पनि उनको योगदान बिर्सिन नसकिने छ । 

विसं २०२३ साल फागुन १ गते खेमलाल र हरिकला लामिछानेको कोखबाट चौथो सनतानका रुपमा जीवा लामिछानेले धर्तीमा पाइला टेकेका थिए । निम्नमध्यम वर्गीय किसान परिवारमा जन्मिएका जीवाको शिक्षा दीक्षा चितवनकै सरकारी विद्यालयमा भयो । 

धोको डाक्टरको पढे ईन्जिनियरिङ उनको प्रारम्भिक शिक्षा कक्षा ७ सम्म चितवनको भीमोदय निम्न माध्यमिक विद्यालयमा भयो भने त्यसपछि उनले ८, ९ र १० कक्षा चितवनकै रत्ननगरस्थित नेपाल माध्यमिक विद्यालयमा अध्ययन गरे । विसं २०४० साल अर्थात् सन् १९८३ मा उनले प्रथम श्रेणीमा एसएलसी पास गर्न सफल भए जीवा । एसएलसीपछि उनको अध्ययन पूल्चोकस्थित ईन्जिनियरिङ अध्ययन संस्थान (कलेज) मा भयो । पुल्चोक इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र तहमा उनी प्रथम श्रेणीमै उर्तिण भए । त्यसपछि उनी सन् १९८६ मा छात्रवृत्ति प्राप्तगरी सोभियत युनियन रसियामा ईन्जिनियरिङ साईन्स विषय अध्ययन गर्न रुस पुगे । खासमा त डाक्टर बन्ने धोको थियो उनको, तर उनी ईन्जिनियरिङ पढ्न पुगे । रसियाको नोभोमोस्कोभ्सीस्थित मेन्डेलिभ केमिकल टेक्नोलोजी ईन्ष्टिच्युटमा उनी रसियन भाषा पढ्न भर्ना भए । एक वर्ष रसियन भाषा पढेपछि मस्को स्टेट युनिभर्सिटी अफ सिभिल ईन्जिनियरिङ कलेजमा भर्ना भए जीवा । सन् १९९२ मा उनले सोही युनिभर्सिटीबाट मास्टर अर्थात् स्नातकोत्तरको डिग्री प्राप्त गरे । 

व्यवसायीक सफलताको राज 

सन् १९९१ मा सोभियत युनियनको विघटनसँगै रसियामा खुला बजार अर्थतन्त्रको सुरुवात हुन थालेको थियो त्यसै क्रममा सुरुमा लामिछानेले त्याँहा ग्रोसरी पसल र क्याफे चलाए । त्यसको एक बर्षमै लामिछानेले मस्कोमा ईलेक्ट्रोनिक्स सामानहरुको व्यापार सुरु गरे । उनको कम्पनीको नाम थियो क्रिस्टल एलएलसी । त्यस कम्पनीले मस्कोमा सोनी, पानासोनिक, जेभीसी, क्यानन, निकोन र अन्य ब्राण्डका विद्युतीय सामानहरुको आधिकारीक बिक्रेताको काम सुरु ग¥यो । धेरैले सामान्य अवस्थाबाट स्थापित व्यापारीसम्मको फड्को मार्ने नेपालीहरुको व्यापारिक सञ्जाल बनाउने श्रेय पाउनेमा जीवा लामिछाने पनि एक हुन् । प्रवासी बसाईमा त्यहाँ नेपाली त्यसरी चम्किनुमा एउटै मात्र कारण छ– तत्कालीन सोभियत संघका राष्ट्रपति मिखायल गोर्वाचोभले सन् १९८५ मा ल्याएको ‘ग्लासनोस्त’ र ‘पेरेस्त्रोइका’ नामक सुधार नीति । खास भन्ने हो भने चिनियाँ नेता देङ स्याओ पिङको मोडलसँग मिल्दोजुल्दो आर्थिक नीति । त्यतिखेर रुसले विदेशी विद्यार्थीलाई बहुराष्ट्रिय कम्पनीका ईलेक्ट्रोनिक उत्पादन व्यक्तिगत प्रयोजनका लागि आयात गर्न छुट दिन्थ्यो । यही छुटको फाइदा उठाउँदै इन्जिनियरिङ पढ्दै गरेका जीवा छुट्टीमा पश्चिमा मुलुक जाने र फर्कंदा कम्प्युटर आदि ‘कन्जुमर इलेक्ट्रोनिक सामान’ ल्याएर बेच्नतिर लागे । घरबाट मस्को जाँदा जीवासँग जम्मा जम्मी १ सय ५० अमेरिकी डलर रहेछ । सहपाठीसँग हजार डलर सापटी लिएर पहिलो व्यावसायिक यात्रामा निस्के उनी जर्मनीमा । रुसको त्यतिबेलाको अवस्था कस्तो थियो भने, जति पुँजी लिएर व्यावसायिक यात्रामा निस्क्यो, एक–दुई सातामै त्यो पुँजी तेब्बर हुन्थ्यो । रुसमै बनेका अनाकर्षक विद्युतीय सामग्री मात्रै उपभोग गर्न बाध्य थिए, उपभोक्ता । जापान, जर्मनी, अमेरिका, सिंगापुर लगायत मुलुकमा बनेका कम्प्युटर, क्यामरा, टेलिभिजन, डेक लगायत विद्युतीय उपकरण लोकप्रिय थिए । रुस पश्चिमी मुलुकसँग हातहतियार र आणविक शक्तिमा प्रतिस्पर्धा गर्ने हैसियत त राख्थ्यो तर जनताका दैनिक उपभोग्य सामान उत्पादनमा त्यति अक्कल थिएन रुससँग । ७३ वर्षे साम्यवादी व्यवस्था पतनपछि बदलिँदो बजारमा वस्तुको व्यापार गर्न जीवासँग बिज–पुँजीको समस्या भएन ।

उनले व्यक्तिगत व्यापारलाई संस्थागत बनाउन रसियन साझेदारसँग मिलेर टेक्नोल्यान्ड प्राइभेट कम्पनी खोले । सिंगापुर, दुबई, फिनल्यान्ड, जापानलगायत मुलुकबाट विद्युतीय सामान आयात गरी रुसका विभिन्न सहरमा बिक्रीवितरण गथ्र्याे त्यसले । यसमध्ये अधिकांश ब्रान्डको रसियामा राष्ट्रिय बिक्रेता अहिले पनि उनकै कम्पनी छ । बहुराष्ट्रिय कम्पनी र रसियाका उपभोक्ताको विश्वास जितेपछि जीवाले मस्कोमा १० वटा इलेक्ट्रोनिक रिटेल पसल पनि चलाए । त्यसलाई बेचेर रुसी बजारमा होलसेल डिस्ट्रिब्युसनमा संलग्न भए । मस्कोमा उनको व्यापारले धेरै उचाई लिईसकेको थियो । यसै दौरान सन् १९९६ मा उनले चिकित्सा पेशामा आबद्ध मेडिकल डक्टर विन्दिता लामिछानेसँग विवाह गरे । त्यतिबेला उनको मागी विवाह भएको थियो । लामिछानेका दुई छोराहरु छन् जेठोको नाम अनुराग र कान्छोको नाम अनुकृत हो । विवाहपछि झन् उनको श्रीमतीले उनलाई व्यापारमा सघाईन् । 

उनले मस्कोमा मात्रै आफ्नो व्यवसाय सीमित राखेनन्,नेपालमा पनि धेरै क्षेत्रमा लगानी गरे । सन् २००३ मा उनले कान्तिपुर टेलिभिजनमा लगानी गरे । त्यतिबेला उनी कान्तिपुर टिभीको प्रबन्ध निर्देशक थिए । नेपालमा उनले मिडियाबाहेक हस्पिटल, कलेज, सिमेन्ट र हाईड्रोपावर लगायत विभिन्न क्षेत्रमा पनि लगानी गरेका छन् । उनी अहिले पनि मेडिकेयर हस्पिटल, एक्मी ईन्जिनियरिङ कलेज, अग्नि सिमेन्ट र सानिमा हाईड्रोपावर कम्पनीका पनि सञ्चालक छन्। त्यस्तै उनको सोपान मल्टिपल लिमिटेड र सानिमा हाईड्रो एण्ड ईन्जिनियरिङ कम्पनी पनि छ । यसबाहेक उनी सानिमा बैंकको अध्यक्ष र दुबईस्थित नेक्टर ईन्टरनेशनल एफजेडसिओ  कम्पनीका प्रबन्ध निर्देशक पनि हुन् । यसको अलवा लामिछानेको व्यवसाय जर्मनीमा समेत रहेको छ । जर्मनीको फ्र्यांकफर्टमा उनले होटल व्यवसाय सञ्चालन गरेका छन् । सन् २०१२ मा उनले जर्मनीमा एल पी ईन्भेष्टमेन्ट कम्पनी स्थापना गरेर होटल व्यवसायमा हात हालेका हुन् ।

व्यवसायसँगै संगठन विस्तार 

उनको अर्को महत्वपूर्ण काम भनेको विश्वभरि छरिएका नेपालीहरुलाई एकताबद्ध बनाई संगठन विस्तार गर्नु हो । जसलाई गैरआवासीय नेपाली संघ अर्थात् एनआरएन भनिन्छ । लामिछाने र रसियामै व्यवसाय गरेका अर्का सफल व्यक्तित्व डा. उपेन्द्र महतोको पहलमा एनआरएन जन्माइयो । लामिछाने अहिले एनआरएनका प्रमुख संरक्षक छन् । यसअघि उनी सन् २०११ मा गैरआवासीय नेपाली संघका अध्यक्ष थिए । यो संघ अहिले विश्वका ६५ वटा राष्ट्रहरुमा विस्तार छ । यो संगठन सन् २००३ मा स्थापना भएको हो । उनी जति समय दिएर व्यवसायमा लागेका छन् त्यो भन्दा बढी योगदान उनको समाजसेवामा पनि उत्तिकै छ । समाज सेवाका लागि उनले आफ्नो बुवा आमाको सम्झनामा खेमलाल हरिकला लामिछाने प्रतिष्ठान नामको समेत सामाजिक संस्था सञ्चालन गरेका छन् । उनी उक्त प्रतिष्ठानका संरक्षक पनि हुन् । त्यसैगरी उनी रसिया नेपाल चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रीको आजीवन सदस्य र रत्ननगर चेम्बर अफ कमर्स ईण्डष्ट्रीको सल्लाहकार हुन् । सन् २०११ देखि २०१३ सम्म लामिछानेलाई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक सल्लाहकार परिषद्को सदस्य बनाएका थिए भने सन् २०११ मै उनलाई नेपाल ईन्भेष्टमेन्ट बोर्डको सदस्यमा नियुक्त गरिएको थियो । व्यवसायमा लगनशीलता, मेहनत र ईमान्दारिता तीनै चिज आवश्यक रहेको उनको सफलताबाट बुझ्न सकिन्छ । व्यवसायको सफलताबाट उनले समाजमा धेरै योगदान दिएका छन् । 

साहित्यमा जीवा 

उनको अर्को लुकेको पाटो भनेको साहित्यिक सिर्जना पनि हो। नेपाली भाषा, संस्कृति र साहित्यलाई नजिकबाट बुझेका लामिछानेले यसको प्रबद्र्धन र उत्थानमा उत्तिकै योगदान समेत दिएका छन् । नेपाली साहित्यलाई उनले विभिन्न देशहरुमा प्रबद्र्धन गरिरहेका छन् । व्यस्त जीवनका केही समय र आर्जित सम्पत्तिको सानो हिस्सा साहित्य सेवामा पनि खर्चेका छन्, उनले । खेमलाल–हरिकला प्रतिष्ठानले हरेक वर्ष लेखकहरुलाई प्रोत्साहनस्वरुप ‘पद्मश्री साहित्य सम्मान’ दिँदै आएको छ । साहित्यमा गहिरो रुचि र आस्था राख्ने जीवा कृति प्रकाशनमा पनि लागेका छन् । हालसालै उनले सरसर्ती संसार नामको नियात्रा साहित्यिक रचना सार्वजनिक गरेर साहित्यीक क्षेत्रमा ठूलै गुन लगाएका छन् । समकालीन नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन नेपाली साहित्यिक कृति अंग्रेजीमा र केही नेपाली कृति रुसी भाषामा अनुवाद गराउने ऐतिहासिक कार्यमा उनको योगदानलाई भुल्न सकिंदैन । उनको रुचि भनेको देश विदेश घुम्ने, इमेलबाटै नयाँ नयाँ कृतिको जानकारी लिने र उक्त कृति अथवा पुस्तक पढिहाल्ने हो ।

एजेन्सी

Comments

Back to top