शरीरसँगै दिमाग पनि तेज बनाउने खानेकुरा

नियमित खाईरहेका खानेकुराको कस्तो खालको फाइदा हुन्छ भनेर तपाईंलाई थाहा नहुन पनि सक्छ । हामीले प्रायः नियमित खाने यस्ता तीन वटा खानेकुरा छन् जसले तपाईंको शरीरसँगै दिमागका लागि पनि एकदमै फाइदाजनक हुन्छन्।

विशेषज्ञको भनाईअनुसार यस्ता खानामा पाइने पोषक तत्वहरुले स्वास्थ्यका लागि मात्र नभएर दिमागका लागि पनि राम्रो हुन्छन् । यी खानेकुरालाई नियमित सेवन गरेमा केही दिनमा परिवर्तन महसुस हुन थाल्नेछ । दिमागको स्वास्थ्यलाई राम्रो बनाउनका लागि खानामा यी खानेकुराहरुलाई समावेश गर्न सकिन्छ ।

ओखर

ओखरलाई सबै ड्राई फ्रुट्सहरुको राजा भनिन्छ, किनकी यसमा एन्टीअक्सीडेन्ट, प्रोटिन तथा स्वस्थ फ्याट भरपूर मात्रामा पाइन्छ । यसबाहेक यसमा क्याल्सियम, पोटाशियम, कपर, आइरन र जिंक पनि पाइन्छ । यो स्वास्थ्य तथा दिमागका लागि एकदमै राम्रो हुन्छ ।

ओखरमा ओमेगा–३ फ्याटी एसिड हुन्छ, जसलाई अल्फा–लिनोलेनिक एसिड पनि भनिन्छ । ओखरमा पोलीफेनोलिक तत्व पनि पाइन्छ । ओमेगा–३ फ्याटी एसिड तथा पोलीफेनोल्स दुबै दिमागको लागि एकदमै आवश्यक मानिन्छ । साथै ओखरमा मेलाटोनिन पाइन्छ जो राम्रो निद्राको लागि आवश्यक हुन्छ ।

बेसार

हरेक भान्छामा हुने बेसारले खानामा रंग दिनुका साथै स्वाद तथा स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ । तर के तपाईंलाई थाहा छ ? बेसार दिमागको लागि पनि राम्रो हुन्छ । बेसारमा सक्रिय तत्व् करक्यूमिन हुन्छ, जसले दिमागमा रगतको फ्लोलाई बढाउन सहयोगी हुन्छ ।

दुधमा थोरै बेसार तथा मरिच मिसाएर पिउनाले दिमागलाई एकदमै फाइदा पुग्छ । यसले दिमागमा हुने प्रेसर कम हुन्छ र तनावबाट राहत पाइन्छ ।

ब्रोकाउली

दिमागको लागि ब्रोकाउली पनि एकदमै फाइदाजनक हुन्छ । यसमा ओमेगा–३ फ्याटी एसिड, फ्लेवोनोइड, भिटामिन ई, आइरन तथा कपर जस्ता पोषक तत्वहरु पाइन्छन् । साथै ब्रोकाउली भिटामिन के को राम्रो स्रोत पनि हो । यसले दिमागको कोषिकाहरुमा चाहिने पोषण दिने काम गर्छ ।

तपाईं पनि यी खानेकुरालाई आफ्नो खानपानमा समावेश गरेर दिमागको स्वास्थ्यलाई राम्रो बनाउन सक्नुहुन्छ । यसलाई सबै उमेर समूहकाले सेवन गर्न सकिन्छ । बच्चाहरुलाई तथा गर्भावस्था भएका महिलाले पनि यी खानेकुरा सही मात्रामा नियमित सेवन गरेमा दिमागको वृद्धि विकासमा सहयोग पुग्दछ ।

एजेन्सी

 

Comments

Back to top