साइबर अपराध मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज अदालतमा पेस गरिँदै
साइबर अपराध मुद्दामा पक्राउ परेका ‘भाइरल म्यान’ दुर्गा प्रसाईंलाई आज (बुधबार) अदालतमा पेस गरिँदै छ ।
मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लाजिम्पाटस्थित कार्यालय पुर्याएको थियो ।
त्यसलगत्तै उनलाई स्वास्थ्य परीक्षणका लागि चिरायू अस्पताल लगिएको थियो । त्यसपछि सीआईबीले प्रसाईंलाई साइबर ब्यूरोको जिम्मा लगाएको छ ।
उनीमाथि विभिन्न मुद्दा परेका कारण कुनमा कारबाही अगाडि भन्ने मंगलबार छलफल भएको थियो । सोहीका आधारमा आज अदालतमा पेस गरिने प्रहरीको उच्च स्रोतले जनाएको छ ।
प्रसाईंलाई सीआईबीले साइबर सेलको अनुरोधमा ‘साइबर क्राइम’ मुद्दामा समातेको हो ।
प्रसाईंले पछिल्लो समय विवादित बयान दिँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विवादास्पद बयान दिएपछि उनी पक्राउ परेका हुन् ।
प्रसाईंले सोमबार कम्बोडियामा टेलिकम क्षेत्रमा प्रधानमन्त्री ओलीको लगानी रहेको आरोप लगाएका थिए ।
एजेन्सी
Comments