जापानको आर्थिक वृद्धिदर सुस्त

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले विश्वको चौथो ठूलो अर्थतन्त्रका रुपमा जापानले फड्को मार्नेे प्रयास गरिरहेको बताइरहँदा तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर सुस्त भएको सरकारी तथ्याङ्कले देखाएको छ । जापानमा दशकौँ यताकै सबैभन्दा भीषण आँधी र ‘महाभूकम्प’को सरकारी चेतावनीले यस गर्मीयाममा औद्योगिक उत्पादन र अन्य आर्थिक गतिविधिमा असर पारेको छ ।

मन्त्रिपरिषद्को कार्यालयको प्रारम्भिक अध्ययनले जुलाई र सेप्टेम्बरको बीचमा देशको वृद्धि दर शून्य दशमलव दुई प्रतिशतले बढेको र यसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा वृद्धि गर्ने जापानको लक्ष्यलाई सम्बोधन गर्न नसक्ने देखिएको छ । तथ्याङ्कले बजारको अपेक्षा पूरा गरेको भए पनि अघिल्लो तीन महिनामा संशोधित शून्य दशमलव पाँच प्रतिशतको वृद्धिबाट सुस्ततालाई चिह्नित गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिको तुलनामा जीडीपी शून्य दशमलव नौ प्रतिशतले वृद्धि भएको छ, जुन अप्रिल–जुनमा संशोधित दुई दशलमव दुई प्रतिशतको तुलनामा निकै कम हो ।

मुख्य क्याबिनेट सचिव योशिमासा हयाशीले दशकौंसम्म स्थिरता र हानिकारक अपस्फीतिको चपेटामा परेको अर्थतन्त्रको ‘क्रमिक पुनरुत्थान’को अपेक्षा सरकारले गरेको बताएका छन् । उनले पत्रकारसँगको नियमित भेटमा भने, ‘हाम्रो देश एक महत्वपूर्ण दोबाटोमा छ किनकि यो ज्याला वृद्धि र लगानीद्वारा सञ्चालित वृद्धिमा आधारित अर्थव्यवस्थामा सङ्क्रमण गर्न लागेको छ ।’

एजेन्सी

Comments

Back to top