पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा

सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनको शोकमा आज (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्तै सरकारले ढुङ्गानाको निधनमा आज राष्ट्रिय शोक मनाउने र स्वदेश तथा विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

पूर्वसभामुख ढुङ्गानाको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिँदै छ ।

नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू त्यहाँ पुगेर उनीप्रति श्रद्धाञ्जली प्रकट गर्नेछन् ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ।

एजेन्सी

Comments

Back to top