गृहमन्त्रीसँग भारतीय सशस्त्र सीमा सुरक्षा बलकाे उच्चस्तरीय टोलीकाे भेटवार्ता

गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ ।

गृह मन्त्रालयमा आज भएको भेटवार्तामा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का बीच दुई देशको सीमा सुरक्षाका क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा भइरहेको कामका विषयमा छलफल भएको थियो ।

भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागूऔषधको अवैध कारोबार र ओसारपसार तथा मानव बेचबिखन नियन्त्रणका साथै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग र सहकार्य गर्न जोड दिएका छन् । नागरिकले कष्ट नपाउनेगरी सौहार्दपूर्ण वातावरणमा शान्ति, सुरक्षा र अपराध नियन्त्रणतर्फ दुवैतर्फको ध्यान जानुपर्नेमा जोड दिँदै गृहमन्त्री लेखकले नेपाल–भारत सीमा नाकामा ओहोरदोहोर गर्ने नागरिकलाई मर्यादित व्यवहार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिए ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्चस्तरीय टोली काठमाण्डाै आएको हो ।

एजेन्सी

Comments

Back to top