नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै
नेपालबाट पहिलो पटक आजदेखि बङ्गलादेशमा बिजुली निर्यात हुँदैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्ने भएको छ ।
गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले बङ्गलादेशमा बिजुली पठाउन लागेको हो । सम्झौताअनुसार भारत हुँदै बिजुली बङ्गलादेशमा पठाउन लागिएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
बङ्गलादेशलाई बिजुली बेच्ने सुरुवात तीन वटा देशका मन्त्रीले भर्चुअलरुपमा गर्ने तयारी छ । नेपालका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्कासहित भारत र बङ्गलादेशका उर्जा मन्त्रीले दिउँसो पौने एक बजे संयुक्त रुपमा स्वीच थिचेर बिजुली निर्यातको उद्घाटन गर्ने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
यस वर्षका लागि शुक्रवार आज एक दिन मात्र बिजुली निर्यात हुनेछ । नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने सम्झौता छ । त्यसअनुसार नेपालले यस वर्ष आज एक दिन बिजुली बेच्नेछ ।
त्यसपछि बिजुली बेच्न अर्को वर्ष जुन १५ तारिख कुर्नुपर्नेछ । सम्झौताअनुसारको अन्तिम दिन आज बिजुली बङ्गलादेशमा पठाएर सुखद् सन्देश दिन खोजिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताएका छन् ।
एजेन्सी
Comments