तालिबान सरकारले अजरबैजानमा हुने कोप–२९ मा भाग लिने
अफगानिस्तानको तालिबान सरकारले अजरबैजानमा भोलिदेखि शुरू हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन शिखर सम्मेलन अर्थात् कोप–२९ मा भाग लिने भएको छ ।
सन् २०२१ मा सत्ता कब्जा गरेको विद्रोही समूह तालिबानले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । सन् २०२१ पछि तालिबान सहभागी हुने यो नै सबैभन्दा ठूलो र पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुनेछ । तालिबान सरकारका प्रवक्ता अब्दुल कहल बाल्खीले आफ्नो सरकार जलवायुका मुद्दामा गम्भीर रहेकाले कोप–२९ मा भाग लिने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अफगानिस्तान जलवायु परिवर्तनका कारण हुने जोखिमको छैटाैं स्थानमा छ । तालिबान अधिकारीहरूले राजनीतिक घटनाका कारण आफूहरूलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताबाट रोक्न नहुने बताउँदै आएका छन् । तालिबानको राष्ट्रिय वातावरण संरक्षण एजेन्सीका अधिकारीहरूले जलवायु परिवर्तनलाई राजनीतिकरण गर्न नहुनेमा बारम्बार जोड दिँदै आएका छन् ।
तालिबानको कब्जाका कारण रोकिएका वातावरणसँग सम्बन्धित परियोजनाहरू पुनर्स्थापना गर्न पनि अधिकारीहरूले आग्रह गरेका छन् । भोलिदेखि अजरबैजानको बाकुमा कोप–२९ सम्मेलन आयोजना हुँदैछ ।
एजेन्सी
Comments