अजरबैजानको बाकुमा आयोजना हुने 'कोप–२९' का लागि नेपालको तयारी पूरा
यही कात्तिक २६ गतेदेखि आउँदो मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकु शहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रको २९औं सम्मेलन (कोप–२९) तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि वन तथा वातावरण मन्त्रालयले आवश्यक काम पूरा भएको जनाएको छ ।
सम्मेलनको पूर्वसन्ध्यामा हुने विभिन्न बैठकमा भाग लिन र तयारी गर्न मन्त्रालयका तीन जना सहसचिवलगायत विज्ञसहितको टोली उद्घाटनको एक हप्ताअघि नै बाकु पुगिसकेका छन् । सम्मेलनमा आफ्नो उपस्थितिलाई सशक्त बनाउन मन्त्रालयले 'एजेण्डा' को प्राथमिकता निर्धारण गरेको छ ।
सम्मेलनमा मुख्यतया अनुकूलन हानि–नोक्सानी, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण क्षमता विकास र अल्पविकसित राष्ट्रहरूको विषय प्रमुख रूपमा उठान गरिने वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिए ।
मन्त्रालयले यसअघिका सम्मेलन र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाएका विषय, संसदीय समितिबाट प्राप्त निर्देशन, विभिन्न चरणमा सरोकारवालासँग गरेका छलफल तथा प्राप्त सुझावका आधारमा राष्ट्रिय स्थितिपत्र तयार गरेको छ । राष्ट्रिय स्थिति पत्रमा विशेषगरी हानि तथा नोक्सानी, पर्वतीय क्षेत्र र जलवायु वित्तका मुद्दालाई प्राथमिकतामा राखेको मन्त्री ठकुरीले बताए ।
कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउँदैछ । राष्ट्रपति पाैडेलले उद्घाटनका अवसरमा आयोजना हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ मा सम्बोधन गर्नेछन् ।
नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाण्डाै उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढी पहिरो तथा त्यसबाट भएको क्षतिबारे जानकारी गराउने तयारी गरेको छ ।
एजेनसी
Comments