ट्रम्पलाई विश्वभरबाट बधाईको ओइरो, रुस–युक्रेन र इजरायल–हमास युद्धबारे विभिन्न टिप्पणी र शङ्का

राष्ट्रपतिमा विजयी भएसँगै डोनाल्ड ट्रम्पलाई विश्वभरबाट बधाईको ओइरो लागेको छ । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले बधाई दिँदै उनीसँग काम गर्न तयार रहेको बताएका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले युरोपको हितको रक्षा गर्दै ट्रम्पसँग सम्मान र महत्त्वाकाङ्क्षाका साथ काम गर्न तयार रहेको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले ट्रम्पलाई बधाई दिँदै दुई देशबीचको साझेदारी थप बलियो हुने बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफू अमेरिका–युक्रेन साझेदारीको दरिलो युगको पर्खाइमा रहेको बताउँदै रुसविरुद्धको युद्धमा लगातारको अमेरिकी सहयोगका लागि आशावादी रहेको बताएका छन् ।

ट्रम्पले यसअघि आफू विजयी भएमा रुस–युक्रेन युद्ध केहीबेरमै रोक्न सक्ने जिकिर गर्दै आएका थिए । अब उनले रुस–युक्रेन युद्धलाई कसरी रोक्नुहुन्छ भन्ने चासो बढेको छ । रुसविरुद्ध लड्न अमेरिकाले युक्रेनलाई दिएको अर्बाैं डलर सहयोगको ट्रम्पले विरोध गर्दै आएका छन् ।

ट्रम्प विजयी भएपछि पत्रकार सम्मेलन गरेर रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले रुस–अमेरिकाको सम्बन्ध ऐतिहासिक रूपमा कमजोर रहेको स्वीकार गर्दै वार्ताका लागि भने ढोका खुलै रहेको बताएका छन् । पेस्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई बधाई दिने कुनै योजनाबारे जानकारी नभएको बताएका छन् । अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई शक्ति दिइरहेको विषय आफूहरूले नर्बिसने भन्दै उनले घटनाक्रमको विश्लेषण गरिरहेको बताएका छन् ।

यस्तै इरानविरुद्ध तत्कालै आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भएकाले अहिले मध्यपूर्वमा चर्किएको द्वन्द्व थप बढ्न सक्ने कतिपयको विश्लेषण छ । विश्वको दोस्रो ठूलो शक्तिमा रहेको चीनविरुद्ध पनि ट्रम्पले धेरै नकारात्मक अभिव्यक्ति दिँदै आएका छन् । कोरोना भाइरसलाई चिनी भाइरसको संज्ञा दिएका ट्रम्पको कार्यकालमा चीनसँगको सम्बन्ध सुधार हुन सकेको थिएन । ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति ल्याएर देश निकाला गर्ने चेतावनी दिएकाले अवैध रूपमा अमेरिका पुगेका र पुग्न खोज्ने आप्रवासी प्रभावित हुनेछन् ।

एजेन्सी

 

Comments

Back to top