जीवा लामिछानेको सफलता राज

जीवा लामिछाने एक सफल उद्यमी/व्यवसायी हुन् । उनको स्वदेश तथा विदेशका विभिन्न सहरमा व्यवसाय सञ्चालनमा छ । लामिछाने र साथीहरू मिलेर खोलेको ट्रिप इन होटल त जर्मनीलगायत विभिन्न देशका सहरहरूमा सञ्चालित छन् ।

लामिछाने कुनै व्यावसायिक घरानामा नभएर सामान्य किसान परिवारमा जन्मिएका हुन् । ०२३ सालमा चितवनको पद्मपुरमा जन्मिएका लामिछानेको बाल्यकाल गाउँमै आम सर्वसाधारणजस्तै सामान्य तरिकाले बित्यो । लामिछानेले स्थानीय सरकारी विद्यालयबाट सन् १९८३ मा प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरे । त्यसपछि उच्च शिक्षाको लागि उनी काठमाडौं आएका उनले सन् १९८६ मा पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङमा सर्वोत्कृष्ट अंकसहित प्रवीणता प्रमाणपत्र तह पूरा गरेका थिए । त्यसपछि नेपाल सरकारको छात्रवृत्तिमा तत्कालीन सोभियत संघको ‘मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङमा भर्ना भएका उनले सन् १९९२ मा इन्जिनियरिङमा स्नातकोत्तर गरे ।

व्यावसायिक यात्रा र सफलता

हरेक छोराछोरीको पहिलो विद्यालय घर र शिक्षक आमाबुवा हुन् । जीवा लामिछानेको जीवनमा पनि यही कुरा लागू भयो । किसान भए पनि जीवाका बुवामा व्यवसाय सम्बन्धी ठीकै चेत थियो । जुन कुरा आफूले सानै उमेरमा सिक्न सकेको जीवा स्मरण गर्छन् ।

किसानको आम्दानीको मुख्य स्रोत भनेकै तिनले उत्पादन गर्ने कृषि उपज हुन् । अहिलेजस्तो व्यावसायिक खेती नहुने त्योबेलाको प्रमुख बाली थिए, धान, मकै र गहुँ । तराईमा चाहिँ बढी प्रचलित अन्नबाली धान थियो । अहिले पनि छ ।  किसानले असार/साउनमा खेती लगाउँदा लिएको ऋण मंसिरमा धान पाकेपछि त्यसैलाई बिक्री गरेर तिर्थे । त्यतिबेला धानको भाउ अहिलेजस्तो थिएन, किसानले सस्तो मूल्यमै खलाबाटै धान बिक्री गर्थे । लामिछानेका बुवा चलाख थिए । उनी सस्तोमै खलाबाट धान उठाउँथे र त्यसलाई बजारमा बिक्री गरेर मुनाफा निकाल्थे । कहिलेकाहीँ यसरी किसानको खलाबाट उठाइएको धान बिक्री गर्दा घाटा हुने अवस्था आउँथ्यो । त्यसबखत उनी त्यसलाई बिक्री नगरी थन्काएर राख्थे । फाइदा हुँदा बेच्ने र नहुँदा त्यसलाई होल्ड गरेर बजार सुधारिएपछि बिक्री गर्ने व्यवसायको सामान्य नियम भए पनि जीवामा नजानिँदो ढंगले व्यवसायको भ्रूण प्रवेश गरिरहेको हुन्थ्यो ।

बुवाले गर्ने व्यापारलाई नजिकबाट नियालिरहेका जीवालाई बाबुले हिसाबकिताब राख्न सिकाउन थाले । त्यतिबेला जीवा मात्रै १०/१२ वर्षका थिए ।

लामिछानेको लक्ष्य व्यवसायीभन्दा पनि इन्जिनियर बन्ने थियो । असलमा यो उनको मात्र नभएर बाबुआमाको पनि सफना थियो । बाल्यकालमै व्यवसायबारे धेरथोर सिक्ने अवसर पाएका जीवामा भने युवाअवस्थामा पुग्दै गर्दा यसको प्रभाव एकपछि अर्को बढ्दै गयो, पूर्णिमाको चन्द्रमामा चमक फैलिएझैं ।

तत्कालीन सोभियत संघमा ०४३ सालमा जीवा विद्यार्थी भएर जाँदा वर्षको दुई महिना गृष्मकालीन छुट्टी हुन्थ्यो । प्रवेश सहज भएकाले उनी युरोपियन देश जान्थे । उनी भन्छन्, ‘त्यतिबेला कलेजका सिनियर साथीहरूले युरोपिएन देशबाट सामान ल्याएर बेच्दा राम्रै मार्जिन बस्ने मलाई सुनाए । मलाई साथीहरूको कुराले आकर्षित ग–यो र एक सेट टिभी, अडियो प्लेर, भिडियो टेपलगायत इलेक्ट्रोनिक सामान ल्याएर बेच्थ्यौं । त्यसबाट राम्रै आम्दानी हुन्थ्यो ।

सन् १९९२ लामिछानेले इन्जिनियरिङको औपचारिक शिक्षा सकाए । त्यो समय उनीसामु दुई विकल्प थिए, पढाइको डिग्री बोकेर स्वदेश फर्कने कि त्यहीँ बसेर व्यवसाय गर्ने । उनले दोस्रो विकल्प रोजे ।

सुरुमा लामिछानेले ग्रोसरी मार्ट खोले । तर यसले लय पक्डन सकेन । त्यसपछि उनले मःम पसल खोले । यसले पनि उनलाई निराश पा–यो । त्यसपछि उनले सन् १९९२ मा मस्कोमा भाइसँग मिलेर इलोक्ट्रोनिक्स सामानको व्यवसाय सुरु गरे । त्यहाँ इलोक्ट्रोनिक्स सामान विशेगरी टिभी, भिडियो डेकोर, म्युजिकल सिस्टमको माग उच्च हुन्थ्यो । ती सामानहरू त्यहीँ बन्थे तर गुणस्तरको नहुने हुँदा जापनिज, जर्मनी ब्राण्ड उपभोक्ताको रोजाइमा हुन्थे । लामिछानेले जापान, जर्मन, सिंगापुरजस्ता देशबाट ल्याएर सामान बेच्न थाले । यो व्यवसायबाट निकै राम्रो आम्दानी गरेको लामिछाने बताउँछन् ।

विस्तारै उनको व्यवसाय बढ्दै गयो । सुरुसुरुमा स्थानीय होलसेलरबाट ल्याएर रिटेलमा बेच्ने गरे पनि पछि उनले जर्मनी, सिंगापुरबाट सामान आयात गर्न थाले । उनको कम्पनीले रुसमा सोनी, पानासोनिक, क्यानन, निकोनलगायत अन्य विद्युतीय सामग्रीको आधिकारिक बिक्रेता भएर काम गर्न थाल्यो ।

इलोक्ट्रोनिक व्यवसायपछि होटल व्यवसायतिर

लामिछानेले लामो समय इलोक्टोनिक व्यवसाय सञ्चालन गरे । उनी गैरआवासीय नेपाली संघमा पनि आबद्ध भए । लामिछाने व्यावसायिक काम र संघको कामको लागि जर्मनीसहित विभिन्न देशमा गइरहनुपथ्र्यो । जर्मनीमा आउजाउ गर्ने क्रममा लामिछानेको भेट कुमार पन्थसँग भयो । कुमार होटल व्यवसायमा थिए । उनीबाटै होटल व्यवसायको सम्भावना राम्रो छ भन्ने थाहा पाएपछि त्यतातिर आकर्षित भए । पन्थसँगको साझेदारीमा खोलिएको होटलले राम्रो मुनाफा मिल्दै गयो । त्यसपछि थप होटलहरू सञ्चालन गर्दै गए । जर्मनीमै पढिरहेका केही नेपालीहरूसँगको साझेदारीमा पनि उनले थप होटलहरू खोले । जुन ट्रिप इन होटल समूह हो । जसको संख्या ५० भन्दा बढी पुगिसकेको छ ।

एजेन्सी

Comments

Back to top