शिवम् सिमेन्टका संस्थापक शिवरतन शारडाको सफलताको कथा
विक्रम सम्बत् २००६ सालमा सिराहा जिल्लाको लहानमा जन्मिएका शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा व्यावसायिक क्षेत्रमा एउटा सफल नाम हो । शारडा ग्रुपको नाम पशुपति राइस मिलदेखि शिवम् सिमेन्ट, होङ्सि सिमेन्ट हुँदै प्रिमियर स्टिलसम्म जोडिएर आउँछ ।
शिव रतनको जन्मअघि नै उनका बुवाहरूले व्यवसायमा निकै लामो संघर्ष गरिसकेका थिए । त्यसबेला लहान व्यवस्थित बजारको रूपमा विकसित भइसकेको थिएन । जुनबेलालहान क्षेत्रको वरपर भएर खुट्टी नदी बग्थ्यो । खुट्टी नदीको पारिपट्टि लहान गोठ भन्ने सामान्य बजार थियो । जहाँ मानिसहरूले गोठ बनाएर बसोबास गर्ने गर्दथे । सोही ठाउँमा शुक्रवार र सोमबार गरी हप्तामा दुई दिन हटिया लाग्ने गर्दथ्यो । उक्त बजारमा धनकुटा, खोटाङ, भोजपुर, तेह्रथुमका व्यक्तिहरू व्यापारिक प्रायोजनका लागि फलफूल, घिउ, राडी तथा उनीका हाते सामानहरू लिएर भेला हुने गर्दथे । यसरी पहाडबाट आएका सामानहरू नुन, तेल, मट्टितेल र फलामसँग साट्ने चलन थियो । तर शारडा परिवारले यो किसिमको व्यापारमा कहिल्यै हात हालेनन् । त्यसबेला सोही क्षेत्रमा उनीहरूको सुन, खाद्य, लत्ताकपडा लगायतको व्यवसाय थियो । हप्तामा दुई दिन खुट्टी किनारमा व्यापार गर्ने उनीहरू बाँकी दिन घोडा चढेर भारतर्फ जाने गर्दथे । तर लहान मालपोतका तत्कालीन मालपोत प्रमुखले लहान बजारको मुहार नै परिवर्तन गरिदिए । बजारलाई उनले खुट्टी नदीको किनारबाट उठाएर हालको स्थानमा स्थापित गराए ।
लहान गोठभन्दा पहिले शारडा परिवार हनुमान नगरबाट आएका थिए । हनुमान नगर कोशीकिनारको बजार थियो । कोशीमा बाँध नभएकै कारण वर्षात्को समयमा कोशीले निकै ठूलो दुख दिन्थ्यो । हनुमान नगरबाट लहानसम्मको यात्रामा कोशी नदी शारडा परिवारका लागि बाधक बन्यो । कोशीमा पुल नभएका कारण हाते डुङ्गाको सहारामा उनीहरूले कोशी पार गरेर लहान आइपुगेका थिए । शिवरतनको जन्म भने लहानमै भएको हो ।
शिव रतन शारडाको जन्म भएकै वर्ष उनका बुवाका ६ जना दाजुभाइ अलग भएका थिए । उनका बुवाले आफ्ना एक जना भाइसँग मिलेर व्यवसाय सञ्चालन गरे । जुट, धान, आलस, मकै र कोदो लगायतको व्यापारिक केन्द्र रहेको लहान बजारबाट सामान खरिद गरी भारतीय बजारसम्म लगेर बिक्री गर्ने उनीहरूको मुख्य पेसा थियो । लामो समय धान, मकै, कोदो लगायतको व्यापार गर्दै गर्दा शारडाका काका–बुबाले राम्रै मुनाफा गर्न थालेका थिए । उक्त सफलतापछि नेपालबाट धान हैन चामलकै व्यापार गर्ने जोश उनीहरूमा बढ्दै गयो र भारतबाट एउटा सेकेन्ड हेन्ड ‘राइस मिल’ खरिद गरे । उक्त मिल उनीहरूले १ वर्ष भारतको बिहार मै राखेर काम सिके । जुन समयमा शारडा परिवारले नराम्रोसँग नोक्सानीको सामना गर्नुप-यो । व्यापारमा नोक्सान सहेर पनि काम सिक्नु नै उनीहरूको उद्देश्य थियो । त्यो भने पूरा भयो ।
एक वर्षको प्रतीक्षापछि शारडा परिवारले उक्त मिललाई विक्रम् सम्बत् २०१५ मा नेपाल भित्र्यायो । नेपालमा राइस मिल भित्र्याउँदाको कथा पनि छुट्टै छ । तत्कालीन समयमा जयनगरसम्म राम्रो बाटो थियो, सहर र रेलवे पनि थियो । बाटोको सुविधा अनुसार उनीहरूले निर्मली स्टेसनसम्म राइस मिल सहजै ल्याए । त्यहाँबाट पनि लौकाहसम्म सामान्य बाटो थियो । त्यो दुरी पार गर्नपनि शारडा परिवारलाई त्यति कठिन भएन । त्यस स्थानबाट लहानसम्म उक्त ४० टनको मिल पु-याउन भने उनीहरूलाई डेढ महिनाको समय लाग्यो । बाटोको असहजताका कारण १ सय जनाकोटोलीले बाटो खन्दै, बनाउँदै, डाइभर्सन तयार पार्दै ३ वटा ट्रयाक्टरको सहायताले २५/३० किलोमिटरको दूरी करिब ४५ दिन लगाएर पूरा गरे । यसरी ‘राइस मिल’ले खरिद गरेको झन्डै १४ महिनापछि बल्ल आफ्नो गन्तव्य प्राप्त ग-यो । त्यसपछि लहानमा पशुपति राइस मिलको स्थापना भयो । त्यस बखत शिव रतन शारडा ९ वर्षका मात्र थिए ।
पशुपति राइस मिलको स्थापनापछि शारडा परिवारमा व्यावसायिक सफलताको सुरुवात भयो । उनीहरूले नेपालमा धान किनेर चामल बनाउने र भारतमा लगेर चामल बिक्री गर्ने गर्न थाले । त्यस बखत भारतको केरला, बंगाल र उडिसा राज्यमा चामलको अभावमा भोकमरीको समस्या थियो । ती राज्यको उक्त अभावलाई उनीहरूले आफ्नो व्यवसायको मेरुदण्ड बनाए। त्यसपश्चात् जयनगरमा शारडा परिवारले एउटा घर खरिद गरे । व्यवसाय पनि फस्टाउँदै गयो । शारडा परिवारले सुरु गरेको राइस मिलको संख्या एकबाट बढेर एघार पुग्यो । लहान, गोल बजार, सिराहा, राजविराजमा उनीहरूको राइस मिल थियो । जनकपुरमा पनि साझेदारीमा अर्को राइस मिल स्थापित गरे । त्यसबेला नेपालमा अत्यधिक न्यून मात्रामा चामलको खपत हुन्थ्यो । शारडा परिवारको व्यापारको मुख्य बजार भारत नै बन्यो । २०३५ सालसम्म यो व्यवसायमा शारडा परिवारको बर्चस्व रह्यो । राम्रो नाफा पनि भयो । विं सं २०२५ सालबाट त शिव रतन शारडा आफै व्यवसायमा प्रवेश गरिसकेका थिए । आफ्ना काका–बुवाको राइस मिलबाटै उनले व्यवसायको कखरा सिके ।
भारतमा व्यवसाय गरेर आम्दानी भएको पैसा उनीहरू बोरामा भरेर ल्याउँथे । पैसाको बढी जतन ग-यो भने चोर डाँका लाग्ला भनेर बोराका बोरा पैसा उनीहरू रेलमा त्यसै फालिदिन्थे । तर त्यो पैसामा उनीहरूको नजर भने रहिरहन्थ्यो । तकियामा पैसा पोको पारेर बोरामा हाल्ने कुरामा शारडा परिवारको चतुर्याइँ थियो । त्यसबेला चोरी डकैतीका घटनाहरू निकै हुन्थे । प्रहरी प्रशासन पनि कमजोर थियो । कमजोर हुनुको कारण भने संख्यात्मक हिसाबले प्रहरी थोरै थिए । यसरी रेलबाट बोरामा भरेर ल्याएको पैसा साइकलमा ओसार्ने गर्दथे । त्यो समयमा शारडा परिवारसँग ७ वटा साइकल थियो । बैंकिङ प्रणाली थिएन । पछि शारडा परिवारकै आग्रहमा नेपाल बैंकले लहानमा शाखा खोल्यो ।
२०३५ साल पछि सरकारले धान चामल निर्यातमा एकद्वार नीति ल्यायो । व्यक्तिले दोस्रो मुलुकमा धान चामल निर्यात गर्न नपाउने भए । सरकारले राजविराजमा सगरमाथा धान चामल कम्पनीको स्थापना ग-यो । निर्यातको सबै काम सोही कम्पनीबाट हुने भयो । त्यस पश्चात् शारडा परिवारको व्यवसायिक पतन सुरु भयो । भलै शारडा ग्रुप सगरमाथा कम्पनीको शेयर होल्डर थियो तर व्यवस्थापन देखि सञ्चालनसम्मको निर्णय कम्पनीमा निहित रह्यो ।
त्यसपश्चात् शारडा परिवारमा नयाँ व्यवसायमा स्थानान्तरण गर्ने सल्लाह भयो । सोही अनुरूप व्यवसाय परिवर्तन पनि भयो । त्यसबेला तराई क्षेत्रमा उखुको पनि राम्रो उत्पादन हुन्थ्यो । उनीहरूले सुगर मिलको स्थापना गरे । पहिलो चरणमा परीक्षणका लागि कमसल सुगर मिलको प्रयोग भयो । जसबाट उत्पादन हुने चिनी पनि कमसल हुने भएकाले आफूहरूले गल्ती गरेको महसुस शारडा परिवारलाई ढिला मात्र भयो । करिब एक दशक सुगर मिल चलाउँदा पनि शारडा परिवारलाई नोक्सान बाहेक केही हात लागेन । उनीहरूले सुगर मिल बन्द गर्नुप-यो । सुगर मिलको नोक्सानलाई सन्तुलन गर्न सोही स्थानमा राइस मिल स्थापना गरे । निर्यातमा एकद्वार प्रणाली लागू भएपनि व्यक्ति वा कम्पनीले चामलको उत्पादन गर्न छुट थियो । तर घट्दो उत्पादन र सरकारको नीतिले गर्दा राइस मिल लामो समय चल्न सकेन । राइस मिलहरू पनि बन्द हुने अवस्थामा पुगे । शारडा ग्रुपले सञ्चालन गर्दै आएका ११ मध्ये ८ वटा राइस मिल बिक्री गरियो । बाँकी तीन वटा मिल र त्यसका गोदाम भने अझै पनि शारडा ग्रुपकै स्वामित्वमा छ । जुन सिराहा र लहानमा छन् ।
२०२५ सालमा आफ्नो ग्र्याजुएसन पूरा गरेका शिव रतन सारडाको सोही साल व्यवसायमा प्रवेश भएको थियो । व्यवसायमा प्रवेश गरेकै वर्ष उनको वैवाहिक जीवन पनि सुरु भयो । धान चामलकै व्यवसायबाट उनको व्यवसायिका यात्राको स्कुलिङ भयो । काका–बुवाबाट व्यवसाय सिक्दै गए । २०३५ सालसम्म बर्चस्व जमाएको धान चामल व्यवसायमा भविष्य नहुने कुरा उनका काकाले २०३० सालमै देखिसकेका थिए । काकाले वैकल्पिक व्यवसायको खोजीमा शिव रतनलाई काठमाडौं पठाए । उनी २४ वर्षीय युवा जोश बोकेर एक्लै काठमाडौं हानिए ।
२०३० सालमा काठमाडौं आएपछि उनको चिनजान इन्द्रभक्त श्रेष्ठ र वृद्धिलाल साहुसँग भयो । जो व्यावसायिक पार्टनर थिए । उनीहरूले शारदालाई दरबारबाट आफूहरूले लाइसेन्स निकालिदिने सर्तमा रोलिङ मिलको व्यवसाय गर्ने प्रस्ताव गरे । त्यसबेला इजाजत पाउन मुस्किल पर्ने भएकाले शारडाले पनि श्रेष्ठ र साहुको प्रस्तावलाई सहजै स्वीकार गरे । श्रेष्ठ र साहुको दरबारसँगको पहुँचका कारण सहजै इजाजत प्राप्त गरे । त्यसपछि विराटनगरमा एभरेष्ट आइरन एण्ड स्टिलको जन्म भयो । २०३३ बाट एभरेस्टको उत्पादन सुरु भयो । त्यसअघि नेपालमा एउटा मात्र रोलिङ मिल थियो । ज्योति ग्रुपको स्वामित्वमा रहेको उक्त मिल हालपनि हिमाल स्टिलको नाममा सञ्चालन भइरहेको छ ।
त्यसो त उनले काठमाडौं पुगेर आयात निर्यातको अर्को व्यवसाय पनि गरे तर उनलाई त्यो काममा चित्त बुझेन । उनले भारतबाट सुँगुरको भुत्लाबाट बन्ने वृषलको आयात गर्ने र तेस्रो मुलुकमा निर्यात गर्ने काम गरे । छोटो समयमै यो नेपाली उत्पादन हैन यसबाट नाफा बनाउन सकिँदैन भन्ने बुझेर उनले त्यो व्यवसाय बन्द गरेका थिए ।
श्रेष्ठ र साहुसँग साझेदारीमा गरेको एभरेष्ट स्टिलको व्यवसाय पहिलो वर्षमा गाह्रो भएपनि केही वर्ष राम्रैसँग चल्यो । भारतबाट कोटामा स्टिल ल्याउनुपर्ने हुन्थ्यो जुन पहिलो वर्षमा उनीहरूले पाएनन् । बिस्तारै अवस्था सहज हुँदै गयो । उनीहरूले नाफा पनि निकाले । तर श्रेष्ठ र साहुसँग शारडाको लामो साझेदारी हुन सकेन उनले नेपालको तेस्रो स्टिल उद्योगको रूपमा हेटौडा रोलिङ मिलको स्थापना गरे । जुन हेटौडा आइरन स्टिल उद्योगको नामले सञ्चालनमा आयो । सरकारले हेटौडामा उद्योग सञ्चालन गर्ने अनुमति दिएकाले कम्पनीको नाम पनि हेटौडासँग जोडियो । पछि सरकारकै अनुमतिमा यो स्टिल उद्योगलाई पनि विराटनगरमा स्थानान्तरण गरियो । विराटनगरमा उनका ३ जना भाइहरूले व्यवसाय सम्हाल्थे शिव रतन भने काठमाडौंमा बसेर कच्चा पदार्थ आयातको व्यवस्थापन र नयाँ कम्पनीको लागि इजाजत लिने लगायतका अन्य कार्यहरु गर्दथे ।
२०३५ सालसम्म बर्चस्व जमाएको राइस मिल धराप परिसक्दा उनीहरूले वैकल्पिक व्यवसाय सुरु गरिसकेका थिए । २०३४ बाटै शारडा ग्रुपले पशुपति सोलभेन्ट, पशुपति खाद्य तेल उद्योगको सुरुवात गरिसकेको थियो । शारडा परिवारले वनस्पति घिउको फ्याक्ट्रीको पनि स्थापना गरिसकेको थियो । काठमाडौंमा बस्दै आएका शिव रतनले आफ्नो पहुँच विस्तार गर्दै गएका थिए । जसकाकारण शारडा ग्रुपलाई नयाँ नयाँ व्यवसाय विस्तार गर्न इजाजत प्राप्त गर्न सहज भयो । पछि पञ्चायत कालका अन्तिम अर्थ वाणिज्य तथा उद्योग मन्त्री भरत प्रधानले ओपन जेनरल लाइसेन्सको व्यवस्था गराए जसबाट नयाँ उद्योग खोल्नेहरूलाई इजाजत लिन सहज भयो । त्यससँगै शारडा ग्रुपले एकपछि अर्को इजाजत लिन थाल्यो र नयाँ नयाँ व्यवसायमा हात हाल्यो ।
यसरी नै आफ्नो व्यवसाय विस्तार गर्ने, तेस्रो मुलुकहरुबाट कच्चापदार्थको व्यवस्थापन गर्ने, व्यवसायलाई नाफामुखी बनाउँदै जाने कार्यमा शिवरतनले पोख्तता प्राप्त गरे । नेपालमा सिमेन्ट उद्योगको चर्चा सुरु भयो । यससँगै शारडा ग्रुपको व्यवसायमा नयाँ मोड आयो । व्यवसाय विस्तारको जिम्मेवारी सम्हाल्दै आएका शिव रतनको काँधमा सिमेन्ट खानी पत्ता लगाउने जिम्मेवारी समेत थपियो । उनले हेटौडामा सिमेन्ट खानी मात्र पत्ता लगाएनन् उद्योग खोल्न आवश्यक पर्ने प्रक्रिया समेत सुरु गरे । तर शारडाले उद्योग खोल्ने तयारी गरिरहेको स्थानमा अर्को समूहले पनि जग्गा किनेर सिमेन्ट उद्योगको तयारी थालिसकेको थियो । अन्ततः उनीहरु मिलेर शिवम् सिमेन्टको स्थापना गरे । शिवम् सिमेन्टका लागि २०६५ मा इजाजत लिएका उनीहरुले २०६८ बाट उत्पादन सुरु गरे ।
लहानमा आएर आफ्नो व्यावसायिक जग बसाएका शारडा परिवारले यतिबेला भने लहान छाडिसकेका छन् । लहानसँग केही अचल सम्पतिबाहेको अरु केही कुनै सम्बन्ध शारडा परिवारको छैन । शिवरतनका भाइहरु श्रीनिवास, राधेश्यामर पवन कुमार शारडाभने अझै पनि विराटनगरमा बसेर आफ्नो व्यवसाय चलाइरहेका छन् । २४ वर्षको युवा जोश बोकेर काठमाडौं प्रवेश गरेका शिवरतनलाई भने ७२ वर्षको उमेरसम्म पनि यो सहरको मोहले छाड्न सकेन । उनले राजधानीमै आफ्नो व्यावसायिक साम्राज्य विस्तार गरे ।
२००६ सालमा संयुक्त रुपमा व्यवसाय सुरु गरेका उनका बुबा र काकाको जोडी कहिल्यै टुटेन । उनीहरुले ५० वर्षसम्म सहकार्य गरे । पुस्ता हस्तान्तरण भएपछि २०५६ सालमा मात्र शिवरतन आफ्ना काकाका छोराहरुसँग छुट्टिएर अलग भए । अलग हुने क्रममा रोलिङ मिल उनका काकाका छोराहरुको भागमा पर्यो । आफ्नो भागमा परेपनि उनीहरुले रोलिङ मिल सञ्चालन भने गरेनन् । आफ्नो भागमा नपरेपनि शारडा गु्रपले त्यो क्षेत्रमा फर्किएर हात पनि हालेन । तर व्यवसायमा अलग भएको करिब १९ वर्षपछि भने उनीहरुले त्यो क्षेत्रमा पुन प्रबेश गर्ने जमर्को गरे । तत्पश्चात प्रिमियर स्टिलको जन्म भएको हो । जसको उत्पादन विराटनगरबाट हुने गरेको छ । यसका अतिरिक्त शारडा ग्रुपले बैंकिङ क्षेत्रमा पनि लगानी गरेको छ । कुमारी, एनएमबी र सनराइज बैंकमा शारडा ग्रुपको प्रोमोटर शेयर रहेको छ । त्यस्तै चाउचाउ, बिस्किट, जुस, दाल, पिठो, सुजी, साबुन र चकलेटको उत्पादन र बिक्रीका क्षेत्रमा पनि शारडा ग्रुपले काम गर्दे आएको छ ।
एजेन्सी
Comments