सरकारले सोध्यो कुलमान घिसिङलाई स्पष्टीकरण

सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत सिंचाईमन्त्री दीपक खड्काले घिसिङलाई स्पष्टीकरण सोधेका हुन् ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा प्राधिकरणको सञ्चालक समितिमा पेश भएका विवरणहरु र सञ्चालक समितिले गरेका निर्णयहरु पनि मागिएको मन्त्रालय स्रोतले बताएको छ ।

घिसिङसँग विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरणसमेत मागेको छ ।

साथै, प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजको अध्यावधिक विवरण, विगत ४ वर्षमा सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणको विवरणलगायतका विवरण मागेको छ ।

ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणका विषयमा छलफल गर्न प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठक बुधबार बिहानका लागि बोलाइएको थियो ।

बिहान ११ बजे बस्ने बैठकका लागि मंगलबार राति साढे ९ बजे पत्राचार गरिएको थियो । तर, कोरम नपुगेकाले बोर्ड बैठक बस्न सकेन ।

एजेन्सी

Comments

Back to top