भारतको जम्मु–कस्मिरमा एकदशकमा पहिलोपटक स्थानीय सरकार गठन हुने

भारत प्रशासित कस्मिरका मतदाताले विगत एक दशकपछि पहिलोपटक मङ्गलबार आफ्नो सरकार चयन गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा सन् २०१९ अगस्ट ५ मा धारा ३७० खारेज गर्दै जम्मु–कस्मिरको विशेष दर्जा हटाएर र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो ।

त्यसबेलादेखि, भारत र पाकिस्तानबीच विभाजित लगभग १ करोड २० लाख जनसङ्ख्या रहेको मुस्लिम बहुल क्षेत्रमा निर्वाचित स्थानीय सरकार छैन । यो नयाँ दिल्लीद्वारा नियुक्त गभर्नरद्वारा शासित रहेको छ ।

प्रधानमन्त्री मोदी तेस्रो कार्यकाल सत्तामा आएपछि गत जुनमा भएको राष्ट्रिय चुनावमा जम्मु–कस्मिरका मतदाताहरुले सहभागिता जनाएका थिए तर सन् २०१४ देखि यस क्षेत्रमा भएको यो पहिलो विधानसभा चुनाव हो ।

नेसनल कन्फरेन्स पार्टी (एनसी) र काङ्ग्रेसको गठबन्धनलाई सरकार गठन गर्न बहुमन प्राप्त भएसँगै समर्थकहरुमा हर्सोल्लास छाएको छ । सत्तारुढ प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (भाजपा)ले भने कुल २७ मत प्राप्त गरेको छ ।

आज मध्यान्हसम्म एनसी र काङ्ग्रेसले विधानसभामा ९० मध्ये ४७ सिट जितेको निर्वाचन आयोगको तथ्याङ्कले बताएको थियो ।

कतिपयले यस निर्वाचनलाई जम्मु–कस्मिर क्षेत्रको विशेष दर्जा खारेज गर्ने सङ्घीय सरकारको निर्णयमाथि वास्तविक जनमतसंग्रह भएको बताएका छन् ।

‘नयाँ दिल्लीले जे गरेको छ त्यस विरुद्ध जनताले आफ्नो निर्णय दिएका छन्’, सामाजिक अभियान्ता इकबाल अहमद भटले भने । 

एजेन्सी

Comments

Back to top