शरणार्थी शिविरमा इजरायलको हमला, कम्तिमा १७ जनाको मृत्यु

 इजरायली सेनाले गाजा क्षेत्रमा रहेको शरणार्थी शिविरमा आक्रमणमा गर्दा कम्तिमा १७ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा विभागले मङ्गलबार बताएको छ ।

‘नागरिक सुरक्षा टोलीले मध्यगाजाको अल–बुरेज शरणार्थी शिविरमा इजरायली सैन्य विमानबाट क्षेप्यास्त्र प्रहार हुँदा मृत्यु भएका अब्दुल हादी परिवारको तीन तले घरबाट बालबालिकासहित १७ जनाको शव निकालेको छ भने अन्य घाइतेहरुको उद्धार गरेको छ’, विभागका प्रवक्ता महमुद बासलले एक विज्ञप्तिमा बताए ।

बसालले मृतकको शव र अन्य घाइतेलाई नुसिरात शिविरको अल–अवदा अस्पताल र देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा लगिएको बताएका छन् ।

गाजाको मध्य र उत्तरी भागमा मङ्गलबार बिहानदेखि थुप्रै हवाई आक्रमणहरू भएको बासलले बताएका थिए ।

प्रत्यक्षदर्शी एवं उद्धारकर्ताले जबलियामा इजरायली सैन्य कारबाही जारी रहेको बताएका छन् ।

पछिल्लो दिनमा इजरायली सेनाले जबलियामा गरेको हवाई आक्रमणमा लगभग २० जनाको मृत्यु भएको सेनाले एक विज्ञप्तिमा जनाएको थियो । सेनाले यस क्षेत्रमा रहेको हतियार भण्डारण सुविधा पनि ध्वस्त पारेको छ । 

एजेन्सी

Comments

Back to top