मेलम्चीको पानी काठमाण्डौमा पुनः वितरण शुरू

गएको असारमा बर्खा लागेसँगै बन्द भएको मेलम्ची आयोजनाको खानेपानी आजदेखि फेरि वितरण शुरू भएको छ । मेलम्ची नदीबाट पठाएको पानी आज काठमाण्डाैको सुन्दरीजल आइपुगेसँगै खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवले वितरणको शुभारम्भ गरेका हुन् ।

दैनिक २२ करोड लिटर आउने गरी पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले दिए । दिउँसोदेखि पानी सुन्दरीजलको प्रशोधन केन्द्रबाट वितरण केन्द्रहरूमा छाडिएको उनको भनाइ छ ।

आन्दोलनरत स्थानीयवासी र हेलम्बु गाउँपालिकासँग मन्त्री यादवले हिजो राति सहमति भएपछि सुरुङमा पानी छाेड्न शुरू भएको थियो । २०७८ साल असार १ गते र त्यसपछिका बाढी पहिरोले मेलम्ची आयोजनाको पानी पठाउने सुरुङ क्षेत्रमा ठूलो क्षति पुर्‍याएकाले बर्खाको समयमा पानी ल्याउन बन्द हुँदै आएको छ । पछिल्लो चार वर्षदेखि बर्खा सकिएपछि मात्रै मेलम्चीको पानी काठमाण्डौ ल्याउने काम भइरहेको छ ।

एजेन्सी

Comments

Back to top