प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड

नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज २ करोड रुपैयाँको चेक हस्तान्तरण गरे । बाढी, पहिरो र डुबानका कारण प्रभावित नागरिकको राहतका लागि बैंकले यो सहयोग गरेको हो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्दालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे । उनले कसैको अनुहार नहेरी प्रणाली र कानूनअनुसार काम गर्न पनि आग्रह गरे ।

यसअघि शुक्रवार विभिन्न वित्तीय संस्थाबाट गरी ३ करोड ४८ लाख रुपैयाँको चेक हस्तान्तरण भएको थियो । मन्त्रिपरिषद्को गएको सोमवारको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रारम्भिकरूपमा १ अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो ।

एजेन्सी

Comments

Back to top