तीन दिनभित्र राहत वितरण गराउने गृहमन्त्रीको प्रतिवद्धता

गृहमन्त्री रमेश लेखकले बाढीपहिरो पीडितलाई तीन दिनभित्र राहत उपलब्ध गराउने बाचा गरेका छन् ।

आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै उनले जिल्ला प्रशासन कार्यालय र सुरक्षा समितिलाई तत्काल लाभग्राहीहरुको विवरण पठाउन निर्देशन दिए। यसपछि राहत वितरणको कार्य तीव्र पारिने उनले बताए ।

लेखकले भने, “सरकारले बाढीपहिरोबाट उत्पन्न समस्यालाई गम्भीरतापूर्वक लिएको छ ।  सकेसम्म छिटो उद्धार तथा राहत सामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउनु हाम्रो दायित्व हो । खोजी तथा उद्धार कार्य निरन्तर जारी छ।”

बाढीपहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएकोले यकिन विवरण सङ्कलन गर्न सबै पक्षलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै उनले घाइतेको निःशुल्क उपचार सरकारको जिम्मामा रहेको स्पष्ट पारे ।

निरीक्षणका क्रममा लेखकले ललितपुरको लेलेस्थित आनन्दवन अस्पतालमा गएको पहिरोमा मृत्यु भएका विवेक सिंहप्रति शोक व्यक्त गरे । ३२ वर्षदेखि अस्पतालमा रिसर्च टेक्निकल अफिसरको रूपमा कार्यरत सिंहको मृत्युले गहिरो क्षति भएको उनले बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले हालसम्म ३९ जना मृतकका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँ राहत वितरण गरिएको जानकारी दिएका छन् । बाँकी मृतकका परिवारलाई पनि चाँडै राहत वितरण गरिने जनाइएको छ ।

निरीक्षणमा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुँयाल, गोदावरी नगर प्रमुख गजेन्द्र महर्जन, स्थानीय वडाध्यक्ष र प्रहरी प्रमुख लगायतका अधिकारीहरू सहभागी थिए।

सरकारको यो कदमले बाढीपहिरो पीडितहरूलाई तत्काल राहत प्राप्त गर्ने आशा दिलाएको छ ।

एजेन्सी

Comments

Back to top