काठमाडौं महानगरले बाढी प्रभावित काभ्रेका ३ पालिकालाई २०/२० लाख दिने

काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई बाढीजन्य विपद्‌बाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि काठमाडौं महानगरपालिकाले २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले पालिकाहरुको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । सहयोग प्रदान गरिने पालिकामा पनौती, रोशी र बेथानचोक छन् ।

पालिकाहरुबाट सहयोगको माग भएपछि विपद् व्यवस्थापन समितिमा छलफल गरेर सहयोगका शिफारिस गरेर महानगर विपद् व्यवस्थापन समितिमा पठाइएको, समितिका संयोजक प्रेम थापाले जानकारी दिए । आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकालाई महानगरपालिकाले सहयोग उपलब्ध गराएको हो ।

आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन वडालाई पत्राचार गरिएको छ । बाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहलाई ‘विपद् व्यवस्थापन कोष’ बाट सहयोग उपलब्ध गराएको हो । अनाधिकृत बसोबासलाई भौतिक सहयोग गरेर असुरक्षित आवासलाई बढावा नदिने महानगरको नीति छ ।

सहयोग उपलब्ध गराइएका पालिका क्षेत्रमा असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल बर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी र पहिरोले व्यक्तिका बस्ने घर पूर्ण र आंशिक रुपमा क्षति गरेको छ । सार्वजनिक सेवा प्रदान गरिने कार्यालयहरुबाट सेवा प्रवाह गर्न कठिन हुने अवस्था सिर्जना भएको छ ।

सडक, खानेपानीका ट्याङ्की तथा पाइप लाइन, सञ्चार र विद्युत् सञ्जालविच्छेद भएको छ । खेतीबाली बगाएको र पुरिएको छ । लत्ताकपडा, खानेकुराको अभाव तथा स्वास्थ्यजन्य समस्या सिर्जना भएको छ । यस्तो मानवीय संकटमा राहत र पुनःस्थापना गर्न महानगरले सहयोग गरेको हो ।

बाढी पहिरोको विपत्तिमा परेर पनौती नगर क्षेत्रमा २० जना व्यक्तिको मृत्यु भएको छ । ५ सय वटा घर पूर्ण र ७१३ वटा घर आंशिक रुपमा क्षति भएका छन् । २ हजारभन्दा धेरै पशु धनको क्षति भएको छ ।

रोशीक्षेत्रभित्र १२ जना व्यक्तिको निधन भएको छ । आवासीय करिब ५ सय घरमा पूर्ण क्षति भएको छ । करिब १ हजार ५ सय घरमा आंशिक क्षति भएको छ । खसी बोका, गाई, भैसी गरेर करिब ५ सय र कुखुरा चल्ला करिब २ हजार संख्यामा क्षति भएको छ ।

बेथानचोकभित्र १२ जना व्यक्तिको निधन भएको छ । पूर्ण र आंशिक गरेर ९७० वटा घरहरुमा क्षति पुगेको छ । गाई, भैँसी र वंगुर गरेर १ हजार वटा, ८ हजार ५ सय वटा कुखुरा गरी ९ हजार ५ सय बढी पशुधनको क्षति भएको छ ।

एजेन्सी

Comments

Back to top