बीपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा गाडीको चाप

साना तथा मझौला गाडीबाट देशका पूर्वी जिल्ला आवतजावत गर्ने बीपी राजमार्ग बाढीले बगाएर ठप्प भएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा गाडीको चाप बढेको छ ।

त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड र पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डमा गाडीको चाप बढेको हो। बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चौकीडाँडादेखि सिन्धुलीको सुनकोशी गाउँपालिकाको सिमाना नेपालथोकसम्म झन्डै ९० प्रतिशत सडक क्षतविक्षत छ ।

बीपी राजमार्ग प्रयोग गरेर कोशी प्रदेशको सबै र मधेश प्रदेशको धेरै जिल्ला जाने गाडीले अहिले पृथ्वी राजमार्ग प्रयोग गरिरहेका छन् । झ्याप्ले खोलाको पहिरोका कारण चार दिनसम्म रोकिएका गाडीको चापसँगै बीपी राजमार्गमा चल्ने गाडी पनि थपिँदा पृथ्वी राजमार्ग झन् व्यस्त बनेको छ ।

गाडीको चाप बढेपछि जाम र दुर्घटनाको जोखिम पनि त्यत्तिकै रहेको भन्दै प्रहरीले जोखिमपूर्ण ठाउँमा आलोपालो गरी गाडी पास गराउँदै आएको छ । सम्भावित दुर्घटनालाई मध्यनजर गरी ६० जना प्रहरी थप गरी राजमार्गमा परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

सामान्यतया दैनिक १३ हजार गाडी आवतजावत हुने पृथ्वी राजमार्गमा दशैँको रौनकले गाडी र यात्रुको चाप बढेको छ । बीपी राजमार्गमा चल्ने गाडीले पनि यही सडक प्रयोग गर्न थालेपछि राजमार्गमा गाडीको चाप अत्यधिक भएको हो ।

एजेन्सी

Comments

Back to top