कोशी ब्यारेजका सबै ढोका खोलियो

कोशी ब्यारेजका सबै ढोका खोलिएको छ । निरन्तरको वर्षाका कारण नदीको बहाव बढेपछि सबै ढोका खोलिएको हो ।

सप्तकोशी नदीको बहाव शनिबार बिहान ९ बजे ४ लाख ४९ हजार ६ सय ८० क्यूसेक मापन भएको छ । यो खतराको तहभन्दा माथि हो । ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ, बहाव उच्च भएपछि भारतीय पक्षले सबै ढोका खुला गरेको हो ।

भारतीय पक्षले बाढी ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । बहाव उच्च भएपछि सुनसरी र सप्तरीमा स्थानीय प्रशासनले सतर्कता अपनाएका छन् ।

बाढी निरन्तर बढ्दो क्रममा रहेकाले सतर्कता अपनाइएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए । उनका अनुसार बाढीमा दाउरा निकाल्न र माछा मार्न रोक लगाइएको छ । भारतीय पक्षले पानीको बहाव उच्च हुने आकलन गरेपछि सतर्कता अपनाइएको उनले बताए ।

कोशीमा बहाव उच्च भएपछि भारतको पटनास्थीत जल संसाधन विभागका प्रधान सचिव सन्तोषले शुक्रबार सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका थिए ।

एजेन्सी

Comments

Back to top