झरीका कारण देशभरको जनजीवन प्रभावित, नारायणगढ–मुग्लिन सडक राति बन्द रहने

निरन्तरको वर्षाले देशका धेरैजसो ठाउँको जनजीवन प्रभावित बनेको छ । पूर्वी नेपालमा ३० घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेको छ ।

गएरातिपछि मध्य नेपालमा मुसलधारे वर्षा भइरहेको छ भने भरे रातिदेखि पश्चिम नेपालमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार झापाको चन्द्रगढी मापन केन्द्रमा २४ घण्टामा २ सय ९९ मिलिमिटर वर्षा मापन भएको छ । एक सय ४० मिलिमिटरभन्दा बढी पानी पर्दा त्यसलाई अति भारी वर्षा भनिन्छ । झापाकै गौरादह, केचना, अनारमनी र बाहुनडाँगी क्षेत्रमा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा अन्य क्षेत्रको तुलनामा काम वर्षा मापन भए पनि आज देशैभरि वर्षा भइरहेको छ । पूर्वी नेपालमा भोलि बेलुकादेखि मात्रै वर्षा कम हुँदै जाने मौसमविद् गोविन्द झाले बताए । निरन्तरको वर्षाले प्राकृतिक विपत्ति आउन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुरक्षित रहन आग्रह गरेको छ ।

यसैबीच अहिले बाग्मती नदीले ललितपुरमा खतराको तह पार गरेको छ । यस्तै कपिलवस्तुमा वाणगङ्गा, बारामा पसाहा खोला, सिन्धुपाल्चोकमा मेलम्ची र झापामा निन्दा खोला खतराको तहमा पुगेका छन् । यस्तै वर्षाले नारायणी, तिनाउ, बाग्मती, कोशी, केशालिया, कन्काई, मेची, बलान खोला लगायतका ३० भन्दा बढी जलाधार क्षेत्रमा खतराको तह पार गरेको छ । कुनै क्षेत्रमा २४ घण्टामा १ सय ४० मिलिमिटर वा त्योभन्दा बढी पानी परेमा त्यसको जलाधार क्षेत्रमा खतराको तह पार गरेको मानिन्छ ।

एजेन्सी

Comments

Back to top