'आईएमएफ' द्वारा पाकिस्तानका लागि ७ अर्ब डलर ऋण स्वीकृत

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानका लागि सात अर्ब डलर ऋण स्वीकृत गरेको छ । पाकिस्तानको प्रधानमन्त्री कार्यालयले आईएमएफले सात अर्ब डलर ऋण स्वीकृत गरेको जनाएको 'बीबीसी हिन्दी' ले उल्लेख गरेको छ।

आर्थिक पुनर्स्थापनाका लागि आईएमएफले दिएका सुझावहरू कार्यान्वयनलाई तीव्रता दिएपछि ऋण अनुमोदन भएको पाकिस्तानकाे प्रधानमन्त्री कार्यालयले जनाएको छ । आर्थिक स्थिरता प्राप्त गरेपछि पाकिस्तानले आर्थिक विकासका लक्ष्यहरू प्राप्त गर्न कडा कदम चाल्नेछ । पाकिस्तानले कृषि कर संरचनामा सुधार गर्ने, राज्यहरूलाई वित्तीय अनुशासनका लागि जिम्मेवार बनाउने र केही अन्य कडा सुधारहरू लागू गर्ने प्रतिज्ञा गरेपछि बल्ल आईएमएफले सात अर्ब डलरको ऋण स्वीकृत गरेको हो ।

'जियो न्यूज' का अनुसार नयाँ ऋणको पहिलो किस्ताबापतको एक अर्ब एक करोड डलर आउँदो सोमवार जारी हुने अपेक्षा छ ।

खराब आर्थिक अवस्थाका कारण पाकिस्तान आईएमएफको ऋणमा निर्भर छ । सन् १९५८ देखि पाकिस्तानले २२ पटक ऋणका लागि आईएमएफमा निवेदन दिएको छ । आईएमएफ पाकिस्तानको पाँचौं ठूलो ऋणदाता हो ।

एजेन्सी

Comments

Back to top