राष्ट्रपति अनुराले लिए शपथ, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने र सुशासन दिने वाचा

श्रीलंकाको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिएका छन् । नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुखसमेत रहेका ५५ वर्षीय दिसानायाकले सोमबार पद तथा गोपनियताको शपथ लिएको श्रीलंकाको मिडिया डेली मिररले उल्लेख गरेको छ ।

दिसानायाके श्रीलंकाको नवौं कार्यकारी राष्ट्रपति बनेका हुन् । शनिबार सम्पन्न मतदानपछि पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । 

पहिलो राउण्डमा अनुरा दिसानायकेले ४२.३१ प्रतिशत र उनका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरे । यसै कारण निर्वाचन आयोगले दोस्रो चरणको मतगणना शुरु गरेपछि साँझ अनुरा दिसानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

श्रीलंकाको इतिहासमा कुनै पनि उम्मेदवारले चुनाव जित्न आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत नपाएको यो पहिलो पटक हो, जसका कारण दोस्रो चरणको मतगणना गरिएको हो ।  विपक्षी नेता सजित प्रेमदासा दोस्रो र निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे तेस्रो भएका थिए ।

दिसानायकेले आफूलाई मजदुरको आवाज उठाउने नेताको रूपमा व्याख्या गर्छन् । चुनावी अभियानमा उनले भ्रष्टाचार अन्त्यका लागि कदम चाल्ने कुरा गरेका थिए ।

अनुरा कुमार दिसानायकेले मतदातालाई भ्रष्टाचार विरुद्ध कडा कदम चाल्ने र सुशासन दिने वाचा गरेका छन् । संकटकालदेखि नै व्यवस्थित परिवर्तनको माग गर्दै आएका मतदाताहरूको मनमा उनको आशाजनक सन्देश गहिरो जरा गाडेको विश्वास गरिन्छ ।

सन् २०२२ मा देशमा चर्को विरोध भएको थियो, त्यसपछि गोटाबाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिनुपरेको थियो। त्यो बेला देशले ठूलो आर्थिक संकटको सामना गर्नुपरेको थियो । त्यसपछि शनिबार मुलुकमा पहिलोपटक राष्ट्रपति पदका लागि निर्वाचन भएको थियो ।

एजेन्सी

Comments

Back to top