इजरायलको आक्रमणमा राष्ट्रसंघका ६ जना कर्मचारी मारिए

इजरायलले गाजाको विद्यालयमा हमला गर्दा संयुक्त राष्ट्रसंघका ६ जना कर्मचारीसहित १८ जना मारिएका छन् ।

इजरायली सेनाले मध्य गाजामा रहेको संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित अल–जौनी विद्यालयमा बम आक्रमण गरी कम्तीमा १८ जनाको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

अलजजीराले भनेको छ – प्रत्यक्षदर्शीहरूका अनुसार ‘महिला र बालबालिका आक्रमणमा चकनाचुर भएका थिए ।’

मृतकमध्ये ६ जना UNRWA का कर्मचारी थिए, जसमा आश्रयस्थलका व्यवस्थापक पनि थिए । उक्त निकायका अनुसार ११ महिने युद्धमा यो घटनामा सबैभन्दा धेरै कर्मचारीको ज्यान गएको छ ।

हमासले मध्यस्थकर्तालाई भनेको छ – उसले कुनै पनि पक्षबाट थप नयाँ शर्तहरू बिना अमेरिकाद्वारा प्रस्तावित, संयुक्त राष्ट्रसंघद्वारा समर्थित युद्धविराम प्रस्ताव लागू गर्न तयार छ ।

इजरायलको गाजामा भएको युद्धमा हालसम्म कम्तीमा ४१ हजार ०८४ मानिस मारिएका छन् र ९५ हजार २९ घाइते भएका छन् ।

इजरायलमा, अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा कम्तीमा १ हजार १३९ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी मानिसलाई बन्धक बनाइएको थियो ।

एजेन्सी

Comments

Back to top