भारतमा बिक्री हुने १२ प्रतिशत मसला गुणस्तरहीन

भारतमा बिक्री हुने १२ प्रतिशत मसला गुणस्तरहीन भएको पाइएको छ । भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरणले देशमा बेचेको मसलाको कुल चार हजार ५४ नमुनाको जाँच गर्दा चार सय ७४ मसला खानयोग्य नभएको पाइएको जनाएको छ ।

प्राधिकरणले मे र जुलाई महिनाको बीचमा ती मसलाहरुको परीक्षण गरेको थियो । सन् २०२४को अप्रिलदेखि मे महिनासम्म सिंगापुर र हङ्कङका सरकारले मसलाको गुणस्तरमा प्रश्न उठाउँदै भारतीय मसला आयातमा प्रतिबन्ध लगाएका थिए ।

खाद्य प्राधिकरणले कुनै ब्रान्ड विवरण नभएका मसलाहरु रहेको र तिनले गुणस्तर र सुरक्षा मापदण्ड पूरा नगरेको उल्लेख गरेको छ । त्यस्तो मापदण्ड र गुणस्तर पूरा नगर्ने कम्पनीलाई कारबाही गरएको पनि प्राधिकरणले जनाएको छ ।

एमडडीएच र एभरेष्टले आफ्ना उत्पादन उपभोक्ताका लागि सुरक्षित भएको दाबी गरेका छन् । यी दुई मसलासहित भारतका चारवटा मासलामाथि हङ्कङ र सिंगापुरले प्रतिबन्ध लगाएका थिए । यी दुवै कम्पनीका उत्पादनमा विषादी ‘इथिलिन अक्साइड’को मात्रा बढी पाइएको भन्दै प्रतिबन्ध लगाएका थिए ।

हङ्कङको फुड सेफ्टी डिपार्टमेन्टले एमडीएच ग्रुपको मद्रास करी पाउडर, सम्भर मसाला पाउडर र करी पाउडरमा उच्च स्तरको इथाइलिन अक्साइड पाइने बताएको थियो । यो कार्सिनोजेनिक विषादी सगरमाथा ब्रान्डको माछा करी मसालामा पनि भेटिएको थियो ।

भारतीय सरकारले सिंगापुर र हङ्कङमा भारतीय मसलामा प्रतिबन्ध नरहेको दाबी गर्दै आएको छ । खाद्य प्राधिकरणले सबै मिडिया रिपोर्टहरुमाथि खण्डन गरेको थियो । सञ्चारमाध्यमहरुमा भारतीय खाद्य नियन्त्रकले जडीबुटी र मसलाहरुमा तोकिएको मापदण्डभन्दा १० गुणा बढी कीटनाशकहरु थप्न अनुमति दिएको खबरहरु आएका थिए ।

एजेन्सी

Comments

Back to top