पाइलट बाबा : फाइटर जेटका पाइलटदेखि सन्तसम्म

भारतीय सन्त पाइलट बाबाको निधन भएको छ ।

केही समयदेखि बिरामी रहेका उनको ८६ वर्षको उमेरमा नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मंगलबार साँझ निधन भएको हो ।

भक्तपुरको सुर्यविनायकस्थित घ्याम्पेडाँडामा आश्रम बनाएर बसेका उनको नामबाटै त्यहाँको नाम नै ‘पाइलट बाबा’ रहन गएको हो । नेपालसँग गहिरो सम्बन्ध रहेका कारण उनी नेपालमा विशेष परिचित मानिन्छन् ।

उनको जीवन केलाउँदा एक रहस्यमयी मानिन्छ । कुनै बेला भारतीय सेनाको फाइटर जेटको पाइलट समेत रहेका उनी शान्तिको बाटो खोज्दै पाइलट बाबाको नामले परिचित बने ।

मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उनले सन् १९७४ मा दीक्षा लिएका थिए ।

नेपाली गुरुसँग शिक्षा लिनुअघि उनी भारतीय वायुयान सेवामा पाइलट रहेका थिए । पछि सबै त्यागेर अध्यात्मको बाटो रोजेपछि उनको बाटो मात्र फेरिएन नाम समेत फेरिन पुगेको हो । सोही नामबाटै उनी विश्वप्रशिद्ध भए ।

पाइलट बाबाको जन्म बिहारको रोहतास जिल्लाको सासाराममा राजपूत परिवारमा भएको थियो । उनको पुरानो नाम कपिल सिंह थियो । उनले काशी हिन्दू विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरे । त्यसपछि उनी भारतीय वायुसेनामा छनोट भए । उनी भारतीय सेनाको बिग कमाण्डरको पदमा रहेका थिए । उनले सन् १९६२, १९६५ र १९७१ मा चीन र पाकिस्तानसँगको लडाईमा वीरतापूर्वक काम गरेका थिए । त्यसको सम्मानस्वरुप भारत सरकारले सम्मान समेत गरेको थियो ।

उनी १५ वर्षसम्म भारतीय सेनामा सेवा गरेर अवकाश लिएका हुन् ।

भारतीय सेनाको पाइलटका रुपमा रहेका उनको जीवन जागिरमा नै रमाइरहेको थियो । तर उनले चलाएको विमान दुर्घटनामा परेपछि उनको जीवनको बाटो मोडियो ।

सन् १९९६ मा भारतको उत्तर–पूर्वमा एमआईजी विमान उडाउँदै गर्दा उनको दुर्घटना भयो । उनले विमानको नियन्त्रण गुमाए । त्यही क्रममा बाबाले आफ्ना गुरु हरि गिरी महाराजको दर्शन पाए र उनलाई त्यहाँबाट सकुशल निकाले ।

उनले आफ्नो जीवनको दोस्रो अध्याय सुरु भएको घोषणा गरेर शान्तिको मार्ग अर्थात् कपिल सिंहबाट पाइलट बाबाको यात्रामा निस्किएका हुन् ।

त्यो क्षण थियो जब बाबाले त्याग प्राप्त गरे र उनी शान्ति र अध्यात्मको लागि सैन्य लडाईबाट टाढा भए । त्यही निर्णयले नै उनलाई बाटो अलग बनाइदियो र विश्वसामु अलग पहिचान बनाइदियो ।

हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उनले जुना अखडा नामका आश्रम चलाउने गरेका थिए । उनलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो ।

एजेन्सी

Comments

Back to top