नेपाल धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षमा सहसचिव महेश बराल नियुक्त

नेपाल धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षमा सहसचिव महेश बराल नियुक्त भएका छन् ।

बोर्डको सञ्चालक सदस्यमा मनोनयन भएका सहसचिव बरालले बिहीबार अर्थ मन्त्री विष्णु प्रसाद पौडेल समक्ष बोर्डको कार्यबाहक अध्यक्ष पदको पद तथा गोपनियताको सपथ लिएको धितोपत्र बोर्डले जनाएको छ ।

अर्थ मन्त्रालयको सोमबारको निर्णयअनुसार सहसचिव बराल बोर्डको सञ्चालक सदस्यमा मनोनयन भएका थिए ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उनी अध्यक्ष तोकिएका हुन् ।

बारल बोर्ड अध्यक्षको साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रुपमा समेत कार्यरत छन् । बराललाई बोर्डका सम्पूर्ण कर्मचारीहरुले स्वागत पनि गरिसकेका छन् ।

सरकार परिवर्तन भएसँगै बोर्डको कार्यबाहक अध्यक्ष पनि फेरिएका हुन् । यसअघि वर्षमान पुन अर्थमन्त्री हुँदा नरेन्द्र राना मगरलाई बोर्डको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

नयाँ कार्यबाहक अध्यक्ष बरालले सूचीकृत संगठित संस्था तथा बजार सहभागीहरुको संस्थागत सुशासन, बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास, विस्तार र स्थायित्वमा जोड दिँदै सम्पूर्ण कर्मचारीहरुलाई तोकिए बमोजिमको जिम्मेवारी निर्भिकतापूर्वक सम्पादन गर्न निर्देशन दिएको धितोपत्र बोर्डले जनाएको छ ।

एजेन्सी

 

Comments

Back to top