नोबेल शान्ति पुरस्कार बिजेता नरगेस मोहम्मदीको जिवन, जेल र सङ्घर्ष

सन् २०२३ को नोबेल शान्ति पुरस्कार इरानी मानव अधिकारकर्मी नर्गिस मोहम्मदीलाई प्रदान गरिएको छ।

इरानका महिलालाई गरिएको दमन विरुद्ध र सिङ्गो मानव जातिको अधिकार एवं स्वतन्त्रताका लागि गरेको संघर्षका लागि उनलाई पुरस्कार प्रदान गरिएको नोबल कमिटीले जनाएको छ।

महिला स्वतन्त्रताका लागि उनले जीवन नै दाउमा राखेकी छन्। इरानी सत्ताले उनलाई १३ पटक गिरफ्तार गरिसकेको छ। पाँच पटक अपराधी ठहर गरेको छ। उनलाई ३१ वर्षको जेल सजाय र १५४ पटक कोर्रा हान्ने सजाय सुनाइएको छ। अहिले पनि उनी जेलमै छिन्।

सन् १९९० को दशकमा भौतिकशास्त्रकी विद्यार्थी हुँदादेखि नै नर्गिसले समानता र महिला अधिकारबारे आवाज उठाउन थालेकी थिइन्। अध्ययन पूरा गरेपछि उनले इन्जिनीयरका रूपमा काम गर्नुका साथै विभिन्न सुधारवादी पत्रिकामा स्तम्भ लेख्न थालिन्।

सन् २००३ मा उनी ‘तेहरानको मानव अधिकार रक्षकहरूको केन्द्र’ मा आबद्ध भइन्। नोबेल शान्ति पुरस्कार विजेता शिरिन इबादीले उक्त संस्था स्थापना गरेकी थिइन्।

बन्दी जीवन बिताइरहेका अधिकारकर्मी र तिनका परिवारलाई सहयोग गरेको आरोपमा सन् २०११ मा उनी पहिलो पटक गिरफ्तार भएकी थिइन्। त्यति वेला केही वर्ष जेलमा राखिएको थियो।

दुई वर्षपछि जमानीमा मुक्त भएपछि उनी मृत्युदण्ड विरोधी अभियानमा सामेल भइन्। यसै पनि इरान सबैभन्दा धेरै मृत्युदण्ड दिने देशको सूचीमा आउँछ। जनवरी २०२२ यता मात्रै इरानमा ८६० भन्दा बढी कैदीलाई मृत्युदण्ड दिइएको छ।

मृत्युदण्ड विरोधी अभियानमा उत्रिएपछि उनी सन् २०१५ मा पुनः गिरफ्तार भइन्। जेलमा पनि उनले राजनीतिक बन्दी र खासगरी महिलालाई कैदमै दिइने यातना र यौनजन्य हिंसाको विरोधमा आवाज उठाइन्।

सेप्टेम्बर २०२२ मा इरानी सैन्य प्रहरीले हिरासतमा कुर्दिस महिला मासा जिना अमिनीको हत्या गरेको विरोधमा इरानमा सन् १९७९ पछिकै सबैभन्दा ठूलो प्रदर्शन भयो। त्यसक्रममा ५०० भन्दा बढी प्रदर्शनकारी मारिएका थिए। २० हजारभन्दा बढी गिरफ्तार भएको त्यो प्रदर्शनको नारा थियो, ‘महिला, जीवन र स्वतन्त्रता।’

नोबेल कमिटीले उनको योगदानलाई ती तीन शब्दले अभिव्यक्त गर्ने उल्लेख गरेको छ। उनले महिलालाई गरिने विभेद र दमन विरुद्ध आवाज उठाइन्। महिलाको सम्मानजनक जीवनको वकालत गरिन्। स्वतन्त्रताको पक्षमा उभिइन्।

५१ वर्षीया नर्गिस इरानको जन्जानमा जन्मिएकी हुन्। उनी पर्वतारोहण समूहकी सदस्य पनि हुन्। तर राजनीतिक क्रियाकलापमा संलग्न भएकाले उनलाई पर्वतारोहणमा रोक लगाइएको थियो। पत्रकारका रूपमा पनि काम गरेकी नर्गिसले द रिफर्म, द स्ट्राटेजी एन्ड ट्याक्टिस पुस्तक प्रकाशित गरेकी छन्।

सन् १९९९ मा उनले पत्रकार ताघी रहमानीसँग बिहे गरेकी थिइन्। तर रहमानी जेल परेका थिए। १२ वर्ष जेल जीवन बिताएपछि उनी इरान छोडेर फ्रान्स गए। नर्गिस भने मानव अधिकारका क्षेत्रमा क्रियाशील रहँदै आइन्।

उनी अहिले जेल जीवन बिताइरहेकी छन्। बन्दी अवस्थामै नोबेल शान्ति पुरस्कार पाउने उनी पाँचौं हुन्। यसअघि कार्ल भोन ओसेत्ज्की, आङ सान सुकी, ल्यू जियाबो र एलेस बियालियात्स्कीलाई बन्दी अवस्थामै पुरस्कृत गरिएको थियो।
 

Comments

Back to top