पुष्पा बस्नेत: जेलमा रहेका नेपाली बालबालिकाहरुको "मामु"

नेपालकी पुष्पा बस्नेत प्रेरणादायी व्यक्तित्वको रुपमा चिनिन्छिन् ।

गोलकास्ट डटकमले सार्वजनिक गरेको सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी हुन् ।

जेल परेका आमाबाबुको सन्तानको पालनपोषण र शिक्षादीक्षा दिँदै आएकी पुष्पाले यही दशकमा सीएनन हिरो र सीएनएन सुपर हिरोको अवार्ड पनि जितेकी थिइन्। गोलकास्टले पुष्पालाई आश्चर्यजनक मानवको संज्ञा दिएको छ।

कारागारका बालबालिकालाई काठमाडौँको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सिएनएनले बस्नेतलाई यसअघि सन् २०१२ को ‘सिएनएन हिरो’ उपाधिले सम्मान गरेको थियो ।

२०१० को दशकमा उनले बालबालिकाको शिक्षा र पालनपोषणको व्यवस्था गरिन् । २०१५ को भूकम्पमा उनको स्कुल भत्किए पनि उनले पुनर्निर्माण गरिन् ।

पुष्पाले अभिभावक जेलमा रहेका बालबालिकाको भविष्य राम्रो बनाउन भूमिका बनाएको बताइन् ।

पुष्पा बस्नेतको जीवन
कुनै दिन ७ हजार रुपैंयाँ कोठाभाडा तिर्न नसक्दा अब अगाडि केही गर्न सकिँदैन भनेर निराश भएकी थिइन् पुष्पा बस्नेत । 

एसएलसी फेल भएपछि स्वयं सेवाका लागि बालमन्दिर पुगेकी पुष्पामा त्यही समयमा आफू हुनुको अर्थ र महत्व बोध भयो । मुलुकबाट लाखौं युवा बिदेसिइरहेको अवस्थामा पुष्पाले सन् २००५ मा अन्य ६ जना साथीसँग मिलेर ४ जना बालबालिकाबाट शिशु स्याहार केन्द्रको सुरुवात गरिन् । जसमा विशुद्ध सेवाभावका साथ जेलभित्रका बालबालिकालाई आश्रय दिइयो ।

इलिट्स स्कुल लामाटारबाट एसएलसी तथा जेभियर एकेडेमीबाट प्लस टु पुष्पाले सेन्ट जेभियर्सबाट स्नातक र के.युबाट पोष्ट ग्रयाज्युएटसम्मको अध्ययन पुरा गरेकी छिन् ।

शिक्षा, स्वास्थ्य, लालनपालन, सीप विकासजस्ता सम्पूर्ण कार्य संस्थामार्फत नै हुन्छन् । ४५ दिनदेखि २१ वर्षसम्मका सन्तानलाई न्यानो ममता दिएर तिनको उज्ज्वल भविष्य कोर्न लागिपरेकी बस्नेत गुणस्तरीयतामा विश्वास गर्छिन् ।

पुष्पाले गृहमा रहेका हरेक बालबालिकालाई गुणस्तरीय जीवन बिताउन सक्षम बनाउने शिक्षा एवं कला हस्तान्तरण गर्छिन् । यो गृहका बालबालिकाहरू काठमाडौं विश्वविद्यालयका साथै राम्रा विद्यालयहरूमा अध्ययनरत छन् भने यही भित्रै तेक्वान्दो, चर्या–डान्स, क्लासिकल गितार, योग, आर्ट थेरापी आदि सिकाइन्छ ।

प्लस टु गरेपछि १ लाख, स्नातक सिध्याएपछि २ लाख तथा स्नातकोत्तर सिध्याएपछि अर्को थप २ लाख गरी जम्मा ५ लाख रुपैंयाँ संस्थाले नै हरेक बालबालिकाको खातामा राखिदिन्छ । बस्नेतले गल्र्स तथा ब्वाइज होस्टेल निर्माण गरेकीछन् । त्यसमा युवा–युवतीका लागि छुट्टाछुट्टै आवास छन् । यो उमेरमै यति साहसिक र अपत्यारिलो काम गर्ने पुष्पा जेललाई बालमैत्री बनाउने अभियानमा समेत सक्रिय छिन् । त्यसअन्तर्गत उनले जेलभित्र रहेका बालबालिकाहरूलाई जाउलो सामग्री ९३ माना गेडागुडी र ३ माना चामल मिसाइएको प्याकेट तथा बटरफ्लाई बक्स (जसभित्र खेलौना, पाठ्यसामग्री हुन्छन् ) उपलब्ध गराउँदै आएकी छिन् ।

यो कार्यक्रम नुवाकोट, गोरखा, धादिङ, इलाम, पाँचथर आदि जिल्लास्थित जेलमा प्रारम्भ भैसकेको छ । हरेक बालबालिकाको सपना पूरा गर्न चाहन्छु–पुष्पा भन्छिन्,‘म धेरै बालबालिका जम्मा गर्ने भन्दा पनि भएकालाई राम्रो जीवन बिताउन सक्ने सक्षम बनाउन चाहन्छु ।’

सन २०१२ मा सिएनएन हिरो अवार्ड प्राप्त गरेपछि संसारभर उनको कामको प्रशंसा भयो । लगत्तै उनले राष्ट्रपतिको हातबाट गोरखा दक्षिणबाहु समेत प्राप्त गरेकी थिइन् ।

एजेन्सी

Comments

Back to top