नेपालकै पहिलो वैज्ञानिक यस्ता थिए!
गेहेन्द्र शमशेर नेपालको पहिलो वैज्ञानिक हुन्। उनै गेहेन्द्रका केहि रोचक तथ्य यहाँ प्रस्तुत छन्ः
१. बि.सं.१९२८ पुसमा भारतको कोलकत्तामा जन्मिएका ‘गेहेन्द्र शमशेर जबरा’ नेपाली शाहीसेनाका जर्नेल थिए। तत्कालीन राणाकालको तेश्रो प्रधानमन्त्री ‘महाराजा बीर शमशेर जबरा’का जेठा छोरा थिए गेहेन्द्र। उनलाई आधिकारिक रूपमै नेपालको पहिलो वैज्ञानिक भनेर चिनिन्छ।
२. घरमै अङ्ग्रेजी प्रशिक्षकसँग केहि कुरा सिकेका गेहेन्द्रले नेपालको पहिलो विध्यालय ‘दरबार हाइ स्कुल’मा पढ्न थाले। त्यहाँ पढ्ने क्रममा उनको रचनात्मकता, बोल्ने कला अनि गीत-सङ्गीतमा रुची अनि खेलकुदमा रुची देखेर सबैजना छक्क पर्थे। दुनियाका नामी वैज्ञानिकहरू जस्तै उनले पनि अरूको कामको प्रशंसा गर्नेभन्दा बढि आफैले नयाँ र नवीन कुराहरूको रचना गर्ने गर्थे।
३. बि.सं.१९४२ मा उनको पिता प्रधानमन्त्री भएपछि उनलाई सानै उमेरमा नेपाली सेनाको हातहतियारको मुखिया बनाइदिएका थिए, जसले गर्दा उनले सुनौलो अवसर चाख्न पाए। उनले यस अवसरको सही सदुपयोग गरी नेपालको हातहतियारको क्षेत्रमा थुप्रै योगदान दिए।
४. उनले सेनाहरूको लागि चाहिने सर-सामान तथा हात-हतियारहरूलाई विदेशबाट आयात गर्नुको सट्टा यहिँको श्रोतलाई प्रयोग गरेर यहिँ नै निर्माण गर्ने गर्थे। उनले त्यतिबेला पनि जमल, सुन्दरीजल, बालाजु तथा भोजपुरको मेघचन भन्ने ठाउँहरूमा नेपालकै पहिलो लघु जलविध्यूत, पानीघट्टाबाट चल्ने चामल कुट्ने मिल, हावाबाट चल्ने पानी तान्ने मोटर जस्ता थुप्रै आविष्कारहरू गरेका थिए।
५. बि.सं.१९६५ मा उनले ब्रिटेनबाट ‘फोर्ड कम्पनी’को कार आयात गरेर त्यसको हरेक पार्टपुर्जाको अध्ययन गरे, आफैले बनाउनको लागि। उनले त्यस कारको पुरै पार्टपुर्जा फुकाले र फेरि जस्ताको तस्तै गरेर जोडिदिए। साथै उनले आफ्नै कार पनि बनाएका थिए। उनले त्यो कार तत्कालीन राजा पृथ्वी बीरबिक्रम शाहदेवलाई उपहार दिएका थिए।
६. त्यतिबेला नेपालका सेनाहरूले १ नाले राइफल मात्रै चलाउँथे। तर उनले २ नाले राइफलको आविष्कार गरे र त्यसलाई ‘गे-राइफल’ (गेहेन्द्रको ‘गे’) नाम दिए। फेरि उनले २ नाले बन्दुकको आविष्कार गरे र त्यसलाई आफ्ना पीताको नामबाट ‘बिर-बन्दुक’ नाम दिए। त्यति मात्रै कहाँ हो र, उनले फेरि नयाँ मोडेलको तोपको आविष्कार गरे र त्यसलाई आफ्ना हजुरबुवा ‘धीर शमशेर’को नामबाट ‘धीर-तोप’ नाम दिए।
उनका यस्ता कामले राणाहरू खुसी थिए। जब देव शमशेर जबरा प्रधान मन्त्री बने, उनले गेहेन्द्रलाई जापानी प्रविधिको जासुसी गर्न जापान पठाए। जापानबाट फर्किएपछि उनले त्यहाँकै प्रविधिमा आधारित रहेर नयाँ हातहतियारहरूको निर्माण पनि गरे।
बि.सं.१९६३को दशैँको अवसरमा, आफूले निर्माण गरेको पिस्तोल कोटको खल्तीमा राखेर चन्द्र शमशेरलाई देखाउन उनी सेतो दरबार गएका थिए। चन्द्र शमशेरलाई ज्यू गर्ने बेला निहुरिँदा उनको खल्तीबाट उक्त पिस्तोल खसेको थियो। यहि कारण नै बि.सं.१९६४मा उनको रहस्यमय मृत्यु भएको विश्वास गरिन्छ। गेहेन्द्र शमशेरको चर्चापरिचर्चाबाट जलेका चन्द्र शमशेरले नै उनको हत्या गरेको त्यतिबेला शङ्का गरिएको थियो। अहिलेसम्म पनि त्यसको रहस्य खुल्न सकेको छैन।
यसरी ३५ वर्षको कलिलो उमेरमै मृत्यु भएको युवा वैज्ञानिकको आविष्कारहरूलाई छाउनीको राष्ट्रिय सङ्ग्रहालयमा संरक्षण गरेर राखिएको छ।
एजेन्सी
Comments