विश्वको अनौठो इतिहास : सेनाले हार्‍यो चरासँगको युद्ध !

विश्वको इतिहासमा विभिन्न देश, ठाउँ तथा समुदायका मानिस–मानिस भएका अनेक खालका युद्धहरुका बारेमा त हामीले सुनेकै छौँ । तर दुनियामा एउटा यस्तो युद्ध पनि भयो जहाँ मानिसहरु पक्षीसँग लडाइँ गरे । उक्त रोचक युद्ध सन् १९३२ मा भएको हो ।

प्रथम विश्वयुद्धपछि सेवा निवृत्त भएका केही सैनिकहरुलाई अष्ट्रेलिया सरकारले पुनर्वासका लागि जमिन दिएको थियो । त्यस्तो जमिन अधिकांस पश्चिमी अष्ट्रेलियामा पर्दथ्यो । सरकारले दिएको जमिन पाएसँगै युद्धवीर भुपु सैनिकहरु किसान बने र आ आफ्नो जमिनमा खेती गर्न थाले । तर केही समयपछि नै उनीहरुको बालीमाथि जंगली पंक्षी इमुको झुण्डले आक्रमण सुरु गर्यो । इमु भिमकाय जंगली चरा हो जुन लगभग इमु जस्तै हुन्छ । विनाशकारी इमुको संख्या २/४ होइन करीब २० हजार थियो ।

इमुको झुण्ड आउने र किसानको बालीनाली सखाप पारेर जाने गर्न थाल्यो । खेती जोगाउनका लागि लगाइएको तारबार समेत इमुले भत्काइदियो ।

इमु आतंक बढेपछि किसानहरुको एक प्रतिनिधिमण्डलले सरकारका प्रतिनिधिलाई भेटेर सहयोगका लागि याचना गर्यो। समस्याको गम्भीरतालाई मध्यनजर गर्दै अष्ट्रेलियाका तत्कालीन रक्षामन्त्रीले इमु विरुद्ध युद्धको घोषणा गरे र युद्ध गर्नका लागि सेनालाई आदेश दिए । तत्कालै मेसिनगन सहित एक सैनिक टुकडी उक्त क्षेत्रमा पठाइयो ।

सन् १९३२ नोभेम्बर २ तारखेको दिन थियो त्यो । सरकारी सेनाले इमुको झुण्डमाथि धावा बोल्यो र सुरुमा इमु भगाउने प्रयास गर्यो तर असमर्थ भए । त्यसपछि उनीहरुले एकठाउँमा जम्मा भएका ५० वटा इमुको माथि मेसिन गनले आक्रमण गर्ने योजना बनाए । जब सेनाले आक्रमणका लागि बन्दुक तेर्साएका मात्र के थिए इमुको झुण्डले पत्तो पाइहाल्यो र तत्कालै कुँदेर जंगलभित्र अलप भयो ।

४ नोभेम्बरका दिनपनि यस्तै भयो । सैनिकहरुले झण्डै १ हजारको संख्यामा रहेका इमुको विशाल झुण्ड फेला पारे । उक्त झुण्डमाथि आक्रमणका लागि जब फायर खोल्न थालियो तब मेसिनगन जाम भयो । मेसिनगन मर्मत गरेर भ्याइसक्दा सम्म अधिकांश इमु त्यहाँबाट भागिसकेका थिए । तथापि सैनिकहरु १२ वटा इमु मार्न सफल भए । उक्त घटनापछि इमु निकै सतर्क भए । सैनिकको आक्रमणबाट बँच्नका लागि इमुहरु स साना समूहमा बाँडिए र आक्रमण हुनसक्ने तर्फ निकै सचेत भए । सैनिकको आक्रमणबाट बँच्दै र भाग्दै उनीहरुले बालीनाली खुब सखाप पारे । तर सैनिकहरु इमुलाई मेसिनगनबाट सोत्तर मार्ने अभियानमा असफल बने ।

६ दिनसम्म चलेको उक्त कारवाहीका क्रममा सैनिकहरुले करीब २५ सय राउण्ड फायर गरे । तर २० हजार इमुमध्ये केवल ५० वटा इमुमात्र मार्न सफल भए ।

त्यसैबीच इमु मार्नका लागि हतियारधारी सेना नै खटिएको उक्त समाचार अष्ट्रियामा देशव्यापी बन्यो । सञ्चारमाध्यमहरुमा निकै चर्चा भएसँगै सरकारको ठूलो आलोचना भयो । त्यसपछि सरकारले सेनालाई फिर्ता बोलायो ।

तर जब किसानका खेतमाथि इमुको आक्रमण तीव्र बन्यो तब एकपटक पुनः नोभेम्बर १३ मा सेनाले अर्को अपरेसन सुरु गर्यो । तर अघिल्लोपटक जस्तै यसपटक पनि इमुहरु सेनालाई छल्न सफल भए ।

इमु विरुद्धको लडाइँमा असफल भएसँगै उक्त सैनिक टुकडीका प्रमुखले त्यतिबेला निकै रोचक टिप्पणी गरेका थिए। यदि आफूसँग हतियार चलाउन जान्ने इमुको एउटा डफ्फा हुन्थ्यो भने आफू विश्वका कुनै पनि सैन्यबलको सामना गर्न सक्ने उनको भनाइ थियो ।

इमुविरुद्धको उक्त असफल युद्धलाई ‘द ग्रेम इमु वार’का नामले चिनिन्छ ।

एजेन्सी

Comments

Back to top