स्टार म्याराडोना : फुटबलका बादशाह

विश्वमै सबैभन्दा लोकप्रिय खेल फुटबललाई मानिन्छ। जब विश्वमै चर्चित फुटबल खेल र खेलाडीको कुरा आउँछ, सबैले पेले र डिएगो म्याराडोनालाई सम्झन्छन्। कुनै खेलाडीले राम्रो खेल्यो भने भन्न थालिन्छ– पेले र म्यारोडोना जस्तै खेल्यो। तर, उत्कृष्ट खेलाडी पेले र म्यारोडोना जस्तै बन्न नपाउँदै सेलाउने गरेको इतिहास छ।

पेले र म्यारोडोना इतिहासका अजम्बरी पात्र बनेका छन्। पेले र म्यारोडोनामा पनि म्यारोडोना भने सधै चर्चामा रहन्छन्। उनको उत्कृष्ट खेल जीवन, ब्यक्तिगत जीवन र दृष्टिकोणका कारण पनि उनी चर्चामा रहनु पनि स्वभाविक हो। त्यसमाथि पनि म्यारेडोनाको घमण्डीपन, तिखो बोलीले पनि उनलाई चर्चाको चुलीमा पुर्‍याइरहन्छ। ८० को दशकका चर्चित खेलाडी डिएगो म्यारोडोना त्यसयता सधै चर्चामा छन्।

म्यारोडोनाले सन् १९८६ मा इङ्ल्याण्ड विरुद्धको खेलमा गरेको हाते गोललाई शताब्दीकै उत्कृष्ट गोल ठहर्‍याइयो। फिफाले सन् २००२ मा गरेको सर्वेक्षण अनुसार म्यारोडोनाले गरेको हाते गोललाई उत्कृष्ट गोल ठहर गरेको हो। त्यस अर्थमा पनि उनी शताब्दीकै उत्कृष्ट खेलाडी हुन् भन्दा फरक पर्दैन। त्यसमाथि म्यारोडोनाको देश अर्जेन्टिनाका जनताले म्यारोडोनाको हातलाई ‘भगवानको हात’ भन्ने संज्ञा दिएपछि उनी कति लोकप्रिय रहेछन् भन्ने कुरा अनुमान गर्न सकिन्छ।

सन् १९६० को अक्टोबरमा म्युनर्स आयर्समा गरीब परिवारमा जन्मेका म्यारोडोनाको पुर्खा क्रोयसियाबाट अर्जेन्टिना पुगेका थिए। त्यसो त फुटबलका अधिकांश चर्चित खेलाडीहरु गरीब परिवारकै हुन्। पेले, जिनेदान जिदान, क्रिष्टियानो रोनाल्डो, रोनाल्डिनियो, रोवार्टा कोर्लोस, रोनाल्डो, मेस्सी, रोवोटो वाजियो लगायतका अन्य।

तीन दिदी र दुई भाइ भएका म्यारोडोना १० वर्षको बाल्यकालमा उत्कृष्ट खेलाडी बनेका थिए भने १६ वर्षको उमेरमै व्यवसायिक खेलाडी बनेका थिए। अर्जेन्टिनामा हालसम्मकै सर्वाधिक बिक्री भएको पुस्तक ‘यो सोई इन डिएगो (म हुँ डिएगो)’ का लेखक म्यारोडोनाले त्यो पुस्तक क्युवाली जनता र फिडेललाई समर्पित गरेका थिए। क्रोएसियाली गाउँको नाम डाल्मा रहेको उनकी आमा हुन्। लामो समय प्रेम गरेर विवाह गरेका उनीहरुको दुई छोरी डाल्मा नेरिया र गियानिना डिनोराह हुन्।

म्याराडोनालाई १९९४ मा अमेरिकामा भएको विश्वकप फुटबलको दौरानमा नै लागूऔषध सेवनको आरोपमा खेल्न प्रतिबन्ध मात्र लगाइएन, अमेरिकाबाट नै निस्काशन गरियो। त्यस समयदेखि उनले हालसम्म पटक–पटक भन्ने गरेका छन्, ‘अमेरिकाबाट आउने सबै वस्तुलाई म घृणा गर्छु।’ उनी लागूऔषध सेवन गर्थे। तर, अमेरिकाले उनलाई एउटा खेलाडीलाई गर्नुपर्ने कारवाहीभन्दा बढी बेइज्जत गरेको थियो। त्यसको मुख्य कारण फुटबल र खेलमात्र होइन, उनको दृष्टिकोण हो। सन् १९८६ को विश्वकपमा अर्जेन्टिनाले जितेपछि म्याराडोनाले यो जीत क्याष्ट्रोको पनि हो भन्नु र बारम्बार साम्राज्यवाद विरोधी अभिव्यक्ति दिनुले पनि उनीमाथि यति धेरै बेइज्जती गरिएको हो भनिन्छ। संयोग पनि कस्तो, लागूऔषधमा चरम रुपमा फसेपछि उनलाई क्यूवाले नै उपचार गर्‍यो। एक प्रकारले भन्ने हो भने कुनै समयका चर्चित प्रशिक्षक म्याराडोना बनाउन क्युवाको पनि देन छ।

प्रशिक्षकको रुपमा अर्जेन्टिनाले उनलाई चयन गरेपछि उनी निरन्तर चर्चामा रहे। झण्डै विश्वकपमा नछानिएको अर्जेन्टिनालाई उनले आश्चर्यजनक रुपमा विश्वकपमा छनौट गराए। उनी प्रशिक्षक भएको बेला जर्मनसँगको खेल बाहेक सबै खेलमा अर्जेन्टिनाको जादुमय खेलमा म्याराडोनाको मेहेनत छ। प्रशिक्षक कस्तो हुनुपर्छ भन्ने कुरा म्याराडोनाले नयाँ कोर्ष दिएभन्दा फरक पर्दैन। खेलाडीलाई प्रशिक्षकले गर्नुपर्ने व्यवहार, खेलाडी हुँदाको समस्याको राम्रो ज्ञान भएका कारणले पनि उनी राम्रो प्रशिक्षक बन्न सफल भए। आन्तरिक कारण र अर्जेन्टिनाको फुटबल राजनीतिले प्रशिक्षकबाट राजीनामा दिएका उनलाई अफरको कुनै कमी थिएन। उनी चाहन्थे आफ्नो सीप राष्ट्र र खेलाडीको लागि प्रयोग गरौं। तर, परिस्थिति र फुटबलको राजनीतिले उनी अर्जेन्टिनी प्रशिक्षकको रुपमा आउन पाएनन्।

म्याराडोनालाई धेरैले फुटबल खेलाडी र प्रशिक्षकको रुपमा हेर्छन्। तर, उनी त्यतिमा मात्र सीमित छैनन्। उनको लुकेको अथवा चर्चामा नआएको अर्को पाटो हो, उनी साम्राज्यवाद विरोधी अभियान्ता हुन्। म्याराडोना जहाँ पुग्छन्, हजारौं समर्थक उनको स्वागत गर्न लामवद्ध हुन्छन्। उनी ती जनतालाई फुटबलको बारेमा मात्र बताउँदैनन्, नागरिक हुनुको महत्व र अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा पनि सचेत गराउने प्रयास गर्छन्। यद्यपि, त्यसमा उनको व्याख्या आउँदैन। सटिक टिप्पणी मात्र आउँछ।

संयुक्त राज्य अमेरिकाले ल्याटिन अमेरिकी राष्ट्र र त्यहाँका जनतामाथि दिएको पीडा तथा गरेको हस्तक्षेपलाई साह्रै नजिकबाट देखेका र भोगेका म्याराडोना सत्य बोल्छन्। अमेरिकाको साम्राज्यवादी नीति विरुद्धमा रहेका नेताहरुको खुलमखुल्ला समर्थन गर्दै उनीहरुको नीतिको वकालत गर्ने म्याराडोना साम्राज्यवादी शक्तिले नरुचाउने व्यक्ति हुन्। त्यसो त उनी पनि साम्राज्यवादी शक्तिलाई कम गाली गर्दैनन्। उनले भनेका छन्, पूर्वअमेरिकी राष्ट्रपति वुस मानव फोहोरी हुन्। सन् २००५ मा अमेरिकी राष्ट्रहरुको सम्मेलनको बेला उनले ‘स्टप वुस’ लेखेको टिसर्ट लगाएर अमेरिकी विरोधी प्रदर्शनमा सहभागी भएका थिए।

विश्व नै हस्तक्षेप गर्ने प्रयास गर्दै आएको अमेरिका विस्तारै ल्याटिन अमेरिकी राष्ट्रहरुमा हस्तक्षेप गर्न असफल भएको छ। क्यूवाका पूर्वराष्ट्रपति फिडेल क्याष्ट्रो, भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेज, बोलोभियाका राष्ट्रपति इभो मोरालेस, ब्राजिलका राष्ट्रपति लुलालगायतका नेतहरुको प्रयास र संयुक्त आवाजले अमेरिका आफ्नो क्षेत्रमा नै कमजोर हुँदै गएको छ। ती व्यक्तिहरु आफ्नो देशको विषयमा आफै जनपक्षीय निर्णय गर्न तल्लीन छन्। त्यसलाई साथ दिने चर्चित व्यक्ति हुन्, डिएगो म्याराडोना। यस्तो अवस्थामा उनी साम्राज्यवादीहरुको लोकप्रिय व्यक्ति रहन सम्भव थिएन। त्यसैले उनीहरुका लागि नियमित आलोचनाका पात्र हुन्। एक प्रकारले भन्ने हो भने अमेरिकाको साम्राज्यवादी नीतिको खुल्ला रुपमा विरोध गर्ने विश्वले चिनेका एक मात्र व्यक्ति डिएगो म्याराडोना हुन् भन्दा फरक पर्दैन।

पाखुरामा चे ग्वेभारा र बायाँ खुट्टाको पिडुँलामा क्याष्ट्रोको टाटु खोपाएका म्याराडोनाले आफ्नो शरीरको कुनै भागमा भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको टाटु खोपाउने घोषणा गरेका थिए। भेनेजुएलाका राष्ट्रपति चाभेज देशभित्र जनपक्षीय नीति लागू गर्न सफल भएका व्यक्ति मात्र होइनन्, ल्याटिन अमेरिकामा क्याष्ट्रोपछिको खम्बाको रुपमा चिनिन्छन्। म्याराडोना क्याष्ट्रो र चाभेजको प्रशंसा गरेर कहिले थाक्दैनन्। र उनले गरेको निर्णयलाई स्वागत गर्दछन्। उनले भनेका छन्, ‘अमेरिका क्याष्ट्रो मरेको हेर्न चाहन्छ, म उनको दीर्घायुको कामना गर्दछु।’ उनले विश्वकप समाप्त भएपछिको पहिलो भ्रमण भेनेजुएलाको गरेर त्यही क्रममा सो अभिव्यक्ति दिएका हुन्। उनले भेनेजुएलाको समर्थन गर्दै भनेका थिए, ‘अमेरिकी अधिकारीहरुको होस खुलोस्, भेनेजुएलामा जनतालाई अधिकारसम्पन्न बनाइँदैछ। उनले जनतालाई अधिकार सम्पन्न बनाउने अर्को देशको निर्णयमाथि टिप्पणी नगरोस्।

उनी अकस्मात भेनेजुएला पुग्नु र क्युवा जान चाहन्छु भन्नुले पनि क्याष्ट्रोको अगुवाइमा गठित ल्याटिन अमेरिकी राष्ट्रहरुको मोर्चाका अनुयायी हुन् भन्ने पुष्टि गर्छ। अमेरिकाको ठूलो अवरोध र षड्यन्त्रका बावजुत क्युवामा जनवादी व्यवस्था कायम छ भने ल्याटिन अमेरिकी राष्ट्रहरुमा निर्वाचनका माध्यामबाट जनपक्षीय निर्णय भइरहेको छ। त्यसैले पनि डिएगो म्याराडोना साम्राज्यवादको विराधमा उभिएका सच्चा कम्युनिष्ट हुन्।

एजेन्सी

Comments

Back to top