मुस्लिम बाहुल्य देश ताजिकिस्तानमा हिजाबमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

मुस्लिम बाहुल्य मध्य एशियाली देश ताजिकिस्तानले हिजाबमाथि आधिकारिक रूपमा प्रतिबन्ध लगाएको छ । ताजिकिस्तानको संसद्को उच्च सदन ‘मजलिसी मिल्ली’ ले हिजाबमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

संसद्को माथिल्लो सदनने गएको जुन १९ मा अनुमोदन गरेको यो विधेयक मुस्लिम बाहुल्य देशमा हिजाबमाथि अनौपचारिक बन्देज लगाएको वर्षाैँपछि आएको हो । विधेयकअनुसार कानुनको उल्लङ्घन गर्नेहरूलाई जरिबाना पनि तिराइने खबरमा उल्लेख छ ।

विधेयकले इस्लामिक महत्त्वपूर्ण चाड– ईद अल–फित्र र इद अल–अधामा विदेश पोसाक लगाउन पनि प्रतिबन्ध लगाएको छ । यस्तै विधेयकले यी चाडपर्व र उपहार दिने परम्पराहरूमा बालबालिकाको सहभागितालाई पनि प्रतिबन्ध लगाएको छ ।

मानव अधिकार सङ्गठनहरूले ताजिकिस्तानको हिजाब प्रतिबन्धलाई धार्मिक स्वतन्त्रताको उल्लङ्घन भएको भन्दै आलोचना गरेका छन् । जनसङ्ख्याको ९८ प्रतिशतभन्दा बढी मुस्लिम समुदायको जनसङ्ख्या भएकाले यो कानून लागू हुँदा विरोध हुने सम्भावना रहेको खबरमा उल्लेख छ ।

एजेन्सी

Comments

Back to top